Trending
>>   यस्ता छन् औषधीय गुण भएको सिप्लिगानको ७ फाइदाहरु (प्रयोग गर्ने तरिका सहित ) >>   आज मिति २०८२ साल वैशाख ०५ गते शुक्रबार ,हेर्नुहोस् आजको राशिफल >>   राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने >>   आज मिति २०८२ साल वैशाख ०४ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने >>   प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट >>   सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा >>   देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी >>   मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन >>   तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्राको टोली पाल्पामा
Logo
५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

थारू बस्तीमा सुरु भयो माघीको रौनक


राँझा, २९ पुस (रासस) ः बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी थारू अगुवा एवम् पूर्वबडघर चन्द्रबहादुर चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् । “माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो पर्वका रुपमा मनाउँछौँ, वर्षभरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन्”, जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तकुमार थारूले भन्नुभयो, “माघी थारू समुदायको विशेष पर्व हो, माघीकै अवसर पारेर गाउँघरमा थारू संस्कृतिको जगेर्ना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् ।” माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा थारू समुदायमा जिता मार्ने (सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने) गरिन्छ । थारूहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । थारू कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद चौधरी भन्नुहुन्छ, “यतिबेला थारू बस्तीका चोकचोकमा युवाहरुको जमघट बढेको छ, बाहिरबाट कमाएर आएकाहरु आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन्, थारू बस्तीका घरघरमा माघी धुमधामले मनाइँदैछ ।” उहाँका अनुसार माघे सङ्क्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने प्रचलन छ । थारु समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ । माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सँुगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतिलो उदाहरण रहेको बाँके राप्ती सोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले बताउनुभयो ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने उहाँको भनाइ छ । माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित भुवरभवानी मन्दिर र बर्दियाको ठाकुरबाबा गाउँपालिकास्थित ठाकुरद्वारामा परम्परागत माघी मेला लाग्ने गर्दछ । माघी नजिकिँदै गर्दा मेलाको पनि तयारी भइरहेको बर्दिया ठाकुरद्वाराका थारू अगुवा मोहन थारूले बताउनुभयो ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?