Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

देशभर तीन दिनसम्म तुँवालो रहने, अत्यावश्यक काम नभई बाहिर ननिस्कन अनुरोध


४ वैशाख, काठमाडाैँ । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ ।

वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताए । उनले स्याटेलाइट तस्बिर हेर्दा काठमाडाैँ उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको जानकारी दिए । बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडाैँमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडाैँ उपत्यकामा प्रदूषणको मात्रा बढेको हो ।

प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ । जलवायु तथा विपद्विज्ञ डा धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए । उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए ।

वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने भएकाले सावधानी अपनाउनसमेत वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए । प्रदूषित हावाका कारण देशैभर हवाई उडानसमेत प्रभावित बन्दै गएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरुको उडान आइतबार प्रभावित बनेको हो । काठमाडाैँबाट अन्तर्राष्ट्रिय उडान भने सामान्य भइरहेका बताइएको छ । आइतबार गरिएको हावाको गुणस्तर मापक सूचक आइक्युएयर अनुसार काठमाडाैँ उपत्यका वायु प्रदूषणमा विश्वभरमा पहिलो सूचीमा थियोे ।

पानी नपरेको खण्डामा वा तीव्र गतिको हावा नचलेमा उपत्यकासहित देशभरको वायु प्रदूषण नघट्ने र अझै केही दिन प्रदूषण कायमै रही जोखिम बढ्दै जाने वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए । वायु प्रदूषणको मात्रा नाप्ने आइक्युएयरका अनुसार आइतबार भक्तपुर र ललितपुरको पाटनमा बढी वायु प्रदूषण थियो । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक आइक्युएयर दुई सयभन्दा माथि थियो ।

यसैगरी, कीर्तिपुर, रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर थियो । यी क्षेत्रमा हावाको गुणस्तर मापन सूचक आइक्युएयर झन्डै दुई सय पुगेको थियो ।

आइक्युएयर ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि एक सयसम्म आइक्युएयर मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्युआई अस्वस्थकर हुन्छ । आइक्युएयर तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक मानिन्छ ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?