Trending
>>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव


विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव

काठमाडौं। प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तिब्रता दिइएको छ ।

रसुवा बाढी–पहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा विपद्मा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।

बैठकमा बोल्दै नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको दैनिक सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति अपरिहार्य रहेको बताएका छन् । विपद्का कारण यसअघि बस्न नसकेर खाली गरिएको रसुवाको हाकुस्थित प्रहरी चौकी पुनःस्थापना भइसकेको छ । यस्तै, स्याफ्रुबेसीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा सुरक्षा युनिट पुनर्गठन गरिएको छ भने बेत्रावती र तिमुरे लगायतका संवेदनशील क्षेत्रहरूमा पनि सुरक्षा उपस्थिति बलियो बनाइएको छ । यद्यपि, क्षतिग्रस्त भएका चौकीहरूको स्थायी संरचना निर्माणका लागि उपयुक्त जग्गा पहिचान गर्न अझै चुनौती रहेको बताएका छन् ।

उनले भने, ‘प्रभावित क्षेत्रमा प्रहरी चौकीहरूको पुनःस्थापना कार्य अघि बढाइएको छ । बेत्रावती, स्याफ्रुबेसी, तिमुरे र हाकु क्षेत्रमा प्रहरी उपस्थिति पुनःस्थापित गरिएको छ। स्याफ्रुमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालित छ । प्रहरीको मुख्य जिम्मेवारी सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्नु र बेपत्ता व्यक्तिहरूको शव खोजी कार्यलाई निरन्तरता दिनु हो। स्थानीय जनगुनासोका आधारमा पनि खोजी कार्य गर्नुपर्ने भएकाले प्रहरीको स्थानीय उपस्थिति आवश्यक छ । हाल उपलब्ध म्यानुअल विधिबाट खोजी कार्य जारी छ । जमिनमुनि शव पहिचान गर्न सक्ने प्रविधि प्रयोगमा ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ । आगामी दिनमा प्रहरी चौकीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानीय सुरक्षा र नागरिकका दैनिक सेवाहरूलाई प्रभावकारी बनाउने योजना रहेको छ ।’

विपद्मा परी पुरिएका वा बेपत्ता भएका व्यक्तिहरूको खोजतलास नियमित रूपमा जारी राखिएको उनले जानकारी दिएका छन् । जमिनमुनि करिव डेढ मिटरसम्म रहेका शव पहिचान गर्नसक्ने आधुनिक उपकरणको अभाव हुँदा उद्धार टोलीले म्यानुअल (परम्परागत) उपायहरूकै भर पर्नुपरेको छ । आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकहरूको खोजी कार्य थप चुनौतीपूर्ण र समय लाग्ने खालको बनेको अधिकारीहरूको भनाइ छ । नागरिकलाई दैनिक शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न स्थानीय तहमै प्रहरी चौकीहरू व्यवस्थित गर्नुपर्ने भएकाले जग्गा प्राप्ति तथा पूर्वाधार निर्माणलाई छिटो टुंग्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?