काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संसाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
शनिवार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै थापाले विद्यालय तहको सिकाइमा देखिएको गम्भीर संकट समाधान गर्दै विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउनुपर्ने बताएका हुन् । थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिको रूपमा स्थापित गर्ने मौका गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् । वर्तमान शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्न जरुरी रहेको बताए । अबको युगमा के सिकाउने भन्दा पनि कसरी सिक्ने भन्नेकुरा सिकाउनु महत्वपूर्ण रहेको बताएका छन् । उनले केही वर्षभित्रै प्रत्येक विद्यार्थीसँग एआई ट्युटर हुनसक्ने सम्भावना औंल्याएका छन् । प्रविधिले ल्याउने द्रुत परिवर्तनसँगै विद्यार्थीलाई विश्व नागरिकका रूपमा तयार पार्नुपर्ने बताएका छन् । उनले स्थानीय माटोको संस्कार र विश्वव्यापी प्रतिष्पर्धात्मक क्षमताको सन्तुलन मिलाउनुपर्नेमा जोड दिएका छन् । सभापति थापाले देशको सबभन्दा ठूलो तागत जलस्रोतभन्दा पनि ‘ह्युमन रिसोर्स’ (मानव संसाधन) भएको दाबी गरेका छन् ।
सभापति थापाले भने, ‘हामीले शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पतीका रूपमा विकास गर्ने अवसर गुमायौँ । अब त्यसलाई पुनस्र्थापित गर्दै अघि बढ्नु आवश्यक छ । आज विश्व कृत्रिम बौद्धिकता र प्रविधिको तिब्र परिवर्तनबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा, सिक्ने सीप, आत्मविश्वास र मानसिक दृढता दिनु हाम्रो प्रमुख दायित्व हो । उनीहरूलाई आफ्नो संस्कार र माटोसँग जोड्दै विश्व नागरिकका रूपमा तयार गर्नुपर्छ । हाम्रो सबैभन्दा ठूलो लगानी विद्यालय र बालबालिकामा हुनुपर्छ, किनकि हाम्रो सबैभन्दा ठूलो शक्ति मानव संसाधन हो । पशुपति मित्र माध्यमिक विद्यालयले समुदायलाई जोडेर गरेको कामका लागि म सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु र विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
सभापति थापाले पार्टीको महाधिवेशनबाट निर्वाचित भएपछिको पहिलो सार्वजनिक कार्यक्रम आफ्नै गाउँ र आफूलाई हुर्काउने विद्यालयको कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार