काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा अवरुद्ध सडकखण्ड खुलाउन शनिवार बिहानैदेखि युद्धस्तरमा काम भइरहेको छ ।
यातायातको मुख्य मार्गका रूपमा रहेको यो खण्डमा ठप्प भएको सवारी आवागमन पुनः सुचारु गर्न सम्बन्धित निकाय र प्राविधिक टोलीले उच्च प्राथमिकताका साथ काम गरिरहेका छन् । केही समयअघि अवरुद्ध भएको पृथ्वी राजमार्गको गलौंदी खण्डलाई तत्काल सुचारु गर्न निर्माण व्यवसायीसहितको टोली परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा राजमार्गमा लामो समयदेखि सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् । सडक विभाग र स्थानीय प्रशासनकाअनुसार सडक अवरोध हटाउन आवश्यक पर्ने भारी मेसिनरी र प्राविधिक टोली घटनास्थलमा खटाइएको छ । सडकको माटो र ढुङ्गा पन्छाउने कार्य जारी रहेको र केही घण्टाभित्रै यातायात सुचारु गर्ने गरी काम भइरहेको छ । अवरोध पन्छाउने कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको र थप समस्या आउन नदिन प्राविधिक टोलीले सावधानीपूर्वक काम गरिरहेको बताइएको छ ।
सम्बन्धित निकायले हाललाई वैकल्पिक सडक प्रयोग गर्न वा यात्रुहरूलाई धैर्यधारण गर्न आग्रह गरेको छ । सडक सञ्चालनमा आएलगत्तै सुरक्षाकर्मीको रोहबरमा सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ । पछिल्लो समय मौसम र सडकको अवस्थाका कारण राजमार्गमा पटक–पटक समस्या देखिँदै आएकाले राजमार्ग व्यवस्थापनमा थप चुनौती थपिएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार