Trending
>>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ


काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ

काठमाडौं ।काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२, भङ्गालमा अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा छापा मार्दै करिव ५४ करोड ६० लाख रुपैयाँ बराबरको २१ किलो ७५० ग्राम सुन र प्रशोधनका लागि प्रयोग हुने मेसिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले पक्राउ परेकाहरूमा हान फेइ, झोउ लोङ कुइन र वाङ ज्याङ जेन रहेको बताएका छन् । उनीहरूले बुढानिलकण्ठस्थित एक घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिई अवैध सुन प्रशोधन कारखाना सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार बरामद गरिएको सुन बिस्कुट र लेसिलो (पेस्ट) अवस्थामा छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षणबाट सो धातु सुन नै भएको पुष्टि भएको छ । पक्राउ परेकाहरूको साथबाट सुन तौलने तराजु, प्रशोधन गर्ने मेसिन, विभिन्न आकार दिने मोल्डिङ उपकरण, नगद (नेपाली र चिनियाँ), मोबाइल, सिमकार्ड तथा एटीएम कार्डहरू पनि बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानले यो गिरोह चीनमा रहेका ‘जेन जिया ल’ नामक व्यक्तिको निर्देशनमा सञ्चालित रहेको देखाएको छ । मुख्य योजनाकार मानिएका सु क्यानले घर भाडामा लिएर चीन फर्केपछि अन्य व्यक्तिहरूलाई नेपाल पठाएको र उनीहरूले ‘वी–च्याट’ मार्फत निर्देशन लिँदै सुन प्रशोधन र ओसारपसार गर्ने गरेको पाइएको छ । गिरोहले कच्चा सुनलाई केमिकलको प्रयोगबाट विभिन्न आकारमा ढाल्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले गाडीमा डेलिभरीका लागि लैजान लागिएको अवस्थामा समेत केही सुन बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिकहरू असोज महिनाको विभिन्न मितिमा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?