काठमाडौँ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू राष्ट्रिय मुद्दामा एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
आईतवार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बढ्दो स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै राष्ट्रियता र सुशासनका लागि सामूहिक पहल आवश्यक रहेको बताएका छन् । महासचिव पोखरेलले जनताले दुई तिहाइको नजिक पु¥याएको जनादेशलाई सही ढङ्गले प्रयोग गर्न नसक्दा मुलुकमा अस्थिरता र आशंका बढेको टिप्पणी गरेका छन् । नेपालको भू–राजनीतिक संवेदनशीलतालाई औंल्याउँदै पोखरेलले देशको अस्मिता र सार्वभौमसत्ताको रक्षाका लागि दलहरू एकजुट हुनुपर्ने खाँचो औंल्याएका छन् । उनले मुलुकमा सुशासनको अभाव र सेवा प्रवाहमा देखिएको लथालिङ्ग अवस्थाप्रति असन्तुष्टि जनाए । दिनहुँ एयरपोर्टबाट बाहिरिने युवाको लर्कोले परिवर्तनको अनुभूति नभएको भन्दै उनले युवापुस्ताको सपनालाई निराशामा बदल्न नहुनेमा जोड दिएका छन् ।
महासचिव पोखरेलले भने, ‘आज लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ । जनताले निर्वाचित गरेको सरकार संसद् र जनताप्रति कति उत्तरदायी छ भन्ने प्रश्न उठिरहेको छ । यस्तो अवस्थामा लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसलगायत सबै लोकतान्त्रिक शक्तिहरूले फेरि एकपटक सामूहिक रूपमा सोच्नुपर्ने अवस्था आएको छ । हिजो राणा, पञ्चायत र निरंकुशताविरुद्ध विभिन्न राजनीतिक शक्तिहरू एकजुट भएर संघर्ष गरे । आज पनि लोकतन्त्र, राष्ट्रियता र संविधानको संरक्षणका लागि सहकार्य आवश्यक छ । भूराजनीतिक चुनौती बढिरहेको अवस्थामा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । नेपाली जनता र छिमेकी राष्ट्रहरूलाई पनि नेपाल आफ्नो राष्ट्रिय हितप्रति सचेत र जिम्मेवार रहेको विश्वास दिलाउनुपर्छ । अर्कोतर्फ, जनताले परिवर्तनसँगै सुशासन, प्रभावकारी सेवा प्रवाह, रोजगारी र तिब्र विकासको अपेक्षा गरेका थिए। तर युवाहरू अझै ठूलो संख्यामा रोजगारीका लागि विदेश जान बाध्य छन् । नयाँ पुस्ताका सपना र आशालाई निराशामा बदलिन दिनुहुँदैन । हाम्रो इतिहास गौरवपूर्ण छ, तर इतिहासको गौरवलाई भविष्यको योजना र संकल्पमा बदल्न सक्नुपर्छ । इतिहासबाट सिक्न नसक्नेहरूलाई इतिहासले सजाय दिन्छ भनिन्छ । त्यसैले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनले नयाँ पुस्ताका अपेक्षा, सपना र भावनालाई सम्बोधन गर्दै देशलाई नयाँ दिशामा अघि बढाउने संकल्प गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
काँग्रेसको १५औँ महाधिवेशनप्रति शुभकामना व्यक्त गर्दै पोखरेलले इतिहासबाट सिक्न नसक्नेहरूलाई इतिहासले नै सजाय दिने चेतावनी दिएका छन् । उनले काँग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र भावनालाई सम्बोधन गर्ने गरी अघि बढ्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार