Trending
>>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई


दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू केवल सरकार बनाउने र ढाल्ने खेलमा मात्र सिमित हुँदा मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसकेको र त्यसैको परिणामस्वरुप जनता तथा युवा पुस्तामा चरम असन्तुष्टि र विद्रोहको भावना चुलिएको बताएका छन् ।

आईतवार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनताको असन्तोषलाई ‘विदेशीको षड्यन्त्र’ भन्दै पन्छाउनुको सट्टा राजनीतिक नेतृत्वले आफ्नै असफलताको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारेका छन् । राजनीतिक दलहरू देश र जनताको आर्थिक रूपान्तरणभन्दा पनि निरन्तर सत्ता समीकरणको अङ्कगणितमा अल्झिएका कारण नागरिकमा व्यापक निराशा छाएको उनको भनाइ छ । भट्टराईले मुलुकभित्रका समस्याहरूको दोष अरूलाई थोपर्ने प्रवृत्ति त्यागेर दलहरूले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । लामो बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तर सुधार्न नसक्नु राजनीतिक नेतृत्वको साझा कमजोरी रहेको उनको स्वीकारोक्ति छ । विश्वका अन्य मुलुकहरूको आर्थिक प्रगतिको उदाहरण दिँदै डा. भट्टराईले आफ्नै जीवनकालमा दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र चीनजस्ता मुलुकहरू ‘ग्लोवल साउथ’ बाट ‘ग्लोवल नर्थ’ अर्थात समृद्ध मुलुकको सूचीमा पुग्न सफल भएको स्मरण गराएका छन् ।

उनले भने, ‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ । त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो । यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी पनि स्वीकार गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएपछि जनतालाई आफ्नै देशमा रोजगारी, अवसर र समृद्धिको विश्वास दिलाउन हामी सफल हुन सकेनौँ । अब आगामी १०–२० वर्षमा नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना बनाऔँ । सबै राजनीतिक दलबीच सहमति गरौँ र कसले राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा प्रतिष्पर्धा गरौँ । यही बाटोबाट देश अघि बढ्न सक्छ । म विशेषगरी मेरो पुस्तालाई आग्रह गर्न चाहन्छु, अब नयाँ पुस्तालाई विश्वास गरौँ, नेतृत्व हस्तान्तरण गरौँ र उनीहरूलाई अघि बढ्ने अवसर दिऔँ । नेपाली काँग्रेसले पनि नयाँ पुस्ता र नयाँ विचारलाई स्थान दिँदै एकतावद्ध भएर अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

नेपालले पनि आगामी १० देखि २० वर्षको स्पष्ट विकास खाका तयार पारेर अघि बढ्नुपर्ने उनको भनाइ छ । डा. भट्टराईले पुराना पुस्ताका नेताहरूले अब नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने समय आइसकेको बताएका छन् । नयाँ पुस्ताले देखाएको हिम्मत र अग्रसरता स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले नेपाली काँग्रेसभित्र पनि सार्थक पुस्तान्तरण र वैचारिक स्पष्टता आवश्यक रहेको बताएका छन् । सत्ताको दुष्चक्रबाट पाठ सिकेर राष्ट्र निर्माणमा केन्द्रित हुन उहाँले सम्पूर्ण राजनीतिक शक्तिहरूलाई आह्वानसमेत गरेका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?