काठमाडौँ।राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन नरहने भएकोले शर्तकताए अपनाउनुपर्ने बताएकी छिन् । उनका अनुसार हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उनको भनाई छ । उनका अनुसार हाल बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक खुलाउन सडक विभागले २५० भन्दा बढी उपकरणलाई विभिन्न स्थानमा प्रि–पोजिसनिङ गरी तयारी अवस्थामा राखेको उनले बताएकी छिन् । वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तिब्रता दिने उनको भनाई छ । कतिपय स्थानमा भने सडक सञ्चालनमा आइसकेको उनले जानकारी दिएकी छिन् ।
उनले भनिन् , ‘विशेषगरी अहिलेको जोखिम भनेको नदी कटान हो, यसले बस्तीहरू अलि जोखिम देखिएको छ । कटान सँगसँगै पहिरोको जोखिम पनि बढेको छ, अहिले नै जोखिम रोकिसकेको छैन । बाढीकै समय अझै बढ्ने देखिन्छ, फेरी बिस्तारै अब घामै लाग्यो भने पनि भोलि–पर्सीतिर पनि पहिरो जाने सम्भावना रहन्छ, किनभने माटोहरु धेरै भिजिसकेको छ, त्यो जोखिम छँदै छ । धेरै ठाउँमा अब राजमार्गहरू, भित्री सडकहरू पनि पहिरोले अवरुद्ध भएका छन् । तर त्यो हुँदै गर्दा पनि हाम्रो, हामीले समन्वय गरिराखेका छौं, सडक विभागले करिब २ सय ५० वटा भन्दा बढी इक्विपमेन्टहरू प्रि–पोजिसनिङमा स्ट्यान्डबाई राखेको छ । त्यही अनुसार अपरेटरहरूलाई मुभ गरेर सडक खोल्ने काम पनि सँगसँगै भईराखेको छ । पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने त्यो कामले पनि अलि तिब्रता लिन्छ । तथापि उहाँहरुको प्रयत्न छ र कति ठाउँमा चाहिं केही सुचारु पनि भइसकेको अवस्था छ ।’
महतकाअनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आईतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा कायमै रहेको छ ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आईतवार