काठमाडौ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डिएनए परिक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ ।
रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । बुधवार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा कार्यक्रममा नेपालका लागि चीनका राजदुत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नाष्टलाई हस्तान्तरण गरेकाहुन् ।
बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डिएनए नमूना परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि परिक्षण गर्ने काम भईरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलले बताएका छन् । पौडेलकाअनुसार हालसम्म नास्टको प्रयोगशालाले करिव ८०७ वटा नमुना प्राप्त गरेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उनले जानकारी दिएका छन् । बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि नमूना परीक्षणलाई तिब्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको उनले बताए ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्यावमा पनि विदेशी विज्ञको सहयोग रहेको उनको भनाइ छ । नास्टले प्राप्त गर्ने नमुनाको प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउने पौडेलले बताए । अन्तिम विश्लेषण तथा पहिचानका लागि आवश्यक डेटासँग मिलान गर्ने काम सम्बन्धित वैधानिक फरेन्सिक निकायबाट हुने उनको भनाई छ ।
उनले भने, ‘अहिले आएको बाढीपछि बगाएका शवहरूको डीएनए प्रोफाइलिङ गर्ने काम हामीले यहाँ गरेका छौँ । तर यसको वैधानिक रूपमा डीएनए प्रोफाइलिङ गर्ने जिम्मेवारी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्यावसँग हुन्छ । तर यो काम दुईवटा ल्याबले मात्र गरेर सम्भव हुने अवस्था थिएन । हामी पनि विज्ञान मन्त्रालयअन्तर्गतको निकाय भएकाले नास्टले सहयोग गर्दा कामलाई अझ छिटो अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले यो काम सुरु गरिएको हो । मन्त्रीज्यूको विशेष पहलमा चीन सरकारको सहयोगबाट आएका उपकरण तथा अन्य सहयोगबाट प्राप्त उपकरणहरू राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, प्रहरी फरेन्सिक ल्याब र यहाँ ल्याइएका छन् । अहिले हामी यस प्रयोगशालाका वैज्ञानिकहरूले सम्बन्धित विज्ञहरूसँग सहकार्य गरेर काम गरिरहेका छौँ । यस क्रममा उहाँहरूले हामीलाई तालिम दिने, हाम्रो क्षमता विकास गर्ने र आवश्यक डेटा उत्पादन गर्ने काम गरिरहनुभएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आएका हड्डी, दाँतलगायतका नमुना तथा हराएका व्यक्तिहरूको पहिचानका लागि उत्खनन गरिएका नमूनामध्ये केही उहाँहरूले आफैँ परीक्षण गर्नुहुन्छ र केही नमुना हामीलाई पठाउनुहुन्छ । हामी ती नमुना आधिकारिक रूपमा लिन्छौँ, किनभने मैले अघि पनि भनेँ—यसको वैधानिक जिम्मेवारी हामीसँग होइन, सम्बन्धित फरेन्सिक संस्थाहरूसँग नै छ । हामीले तयार गरेको डेटा उहाँहरूलाई पठाउँछौँ । त्यसपछि डेटा विश्लेषण गर्ने काम फरेन्सिक ल्याव तथा प्रहरीको सम्बन्धित संयन्त्रले गर्छ । उहाँहरूसँग अन्तर्राष्ट्रियस्तरको डेटाबेसमा पहुँच पनि छ । हामीले पठाएको डेटा त्यहाँ समावेश हुन्छ ।’
उनकाअनुसार नास्टमा भइरहेको कामले तत्कालीन डीएनए परीक्षणसँगै नेपाली वैज्ञानिकको क्षमता विकासमा समेत सहयोग पुगेको छ । चिनियाँ विज्ञहरूले आफ्ना उपकरणसहित नेपाल नेपाली वैज्ञानिकलाई तालिम र प्राविधिक सहयोग गरिरहेको उनले बताए । पौडेलका अनुसार मानव अवशेषबाट डीएनए निकाल्ने प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सञ्चालन भइरहेको छ । चिनियाँ उपकरण र प्रविधि प्रयोग गर्दा प्रक्रिया थप अनुकूलित भएकाले परीक्षणलाई तीव्र बनाउन सहयोग पुगेको उनको भनाइ छ । उनले नमुनाको संख्या घटेपछि नियमित रूपमा हुने फरेन्सिक परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको फरेन्सिक ल्याबबाटै सञ्चालन गर्न सकिने बताएका छन् ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार