Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मिथिलामा ‘जुड–शीतल’ मनाइँदै


२ वैशाख ,महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ ।

वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख–२ गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन छ । मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पर्दछ ।

यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कुलदेवता) लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पिठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

वैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व सुरु गरिन्छ । पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो , गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् ।

पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । ‘सतुवाइन’ मैथिल (मिथिलाका बासिन्दा) ले हिजै सम्पन्न गरेका छन् । पर्वको दोस्रो दिन अर्थात आज (वैशाख–२ गते) घर/घरमा परिवारका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशिर्वाद दिएका छन् ।

नयाँ वर्र्षले जीवनमा शितलता प्रदान गर्न सकोस्भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा रहेको छ ।

जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । धुलो र हिलो माटो छेपाछेप गर्नु पनि कृषि कार्यमा सधैँ लागि रहन पाइयोस् भन्ने कामना रहेको मिथिला संस्कृति तथा परम्पराका जानकार सेवानिवृत शिक्षक भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारु बताउछन् ।

खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको अन्तर्य रहने हुँदा यो कृषि पर्व रहेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय किसान नथुनी महतोको भनाइ छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?