Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्छ’–ओली


‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्छ’–ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिएका छन्।

बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिएका हुन् । ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उनको भनाइ छ । उनले विपद् प्रभावित क्षेत्रमा उद्धारमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ११/१२ दिनपछि मानिसहरू आफैं सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको भन्दै ओलीले उद्धार कार्यलाई प्रभावकारी र शिघ्र बनाउन सरकारलाई सुझाव दिएका छन् । विस्थापित परिवारका सदस्यहरूलाई अलग–अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताए । बुबा एउटा शिविरमा र छोरी अर्को क्याम्पमा राखिएको उदाहरण दिँदै उहाँले परिवारका सदस्यहरूलाई सँगै बस्ने तथा एक–अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले स्वच्छ खाना, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न ओलीले सरकारलाई सुझाव दिएका छन् । प्रहरीको काम सरकारको कमजोरी लुकाउन मानिसलाई रोक्ने नभई नागरिकको सुरक्षा गर्नु भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने, ‘म सेना प्रहरीलाई पनि भन्न चाहन्छु, तपाईंहरु नियम, कानून र कर्तव्यभित्र रहेर, काम गर्नुस् । अनावश्यक, अनुचित आदेश पालना नगर्नुस्, अनावश्यक आदेश पालना गर्न सकिँदैन, जनताका बीचमा तनाव ल्याउने काम गर्नु हुँदैन भनेर तपाईंहरुले पनि जवाफ दिनुपर्छ । म सरकारमा रहेका मानिसहरुलाई पनि भन्न चाहन्छु, यस प्रकारका राज्य शक्तिको दुरुपयोग जसरी भइरहेको छ, जसरी गरिरहनुभएको छ, यो कुरा रोक्नुस् । दुरुपयोग हुन नदिनुस् । हामीले अलिकति केही सुझाव दियो भने को हो तपाईंहरु सुझाव दिने भन्छन् । उनीहरु भन्छन्, हेलिकप्टर पनि अब त हाम्रै हातमा छ, सबै राज्य नै हामीले कब्जा गरेका छौँ । हामीले देखेका छौँ, हामीले जेलनेल पनि देखेका छौँ, अनेक कुरा देखेका छौँ, यत्तिकै पड्केर, चिठ्ठा परेर, आगो लागेर आएका होइनौँ । कुनै आगजनी, तोडफोट, लुटपाटबाट मान्छे कुटेर, मारेर, आगो लगाएर आएका थिएनौँ । उहाँहरु कसरी आउनु भयो, चुनावबाट आएका हौँ भन्नुहोला, त्यसबारे पछि छलफल गरौँला । चुनाव के भएको थियो, कसरी भएको थियो, कसतो वातावरण, परिस्थितिमा । यो दुःखका बेला सबै मिल्नुपर्छ । हामी भनिरहेका छौँ, हामी सरकारलाई साथ दिन, सरकारसँग मिलेर काम गर्न तयार छौँ, तर सरकार संलग्न हुन पनि दिइरहेको छैन, यो बहुतै दुःखद् कुरा हो । तर पनि हामी आफ्नो कर्तव्य पूरा गर्नेछौँ ।’

उनले सरकारलाई सहयोग गर्न एमाले तयार रहेको स्पष्ट पार्दै सरकार पनि सहकार्यका लागि तयार हुनुपर्ने बताएका छन् । जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने भन्दै ओलीले विपद्को समयमा सरकार र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?