काठमाडौँ। सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरुको उद्धारमा ढिलाई गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ ।
सोमवार एशोसिएशनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो आपत्ति जनाएको हो । उनले सयौँ मानिसको ६ दिनसम्म उद्धार गर्न नसकेपछि दबाबमूलक अभियान शुरु गरिएको बताएका छन् । अध्यक्ष बरालले भीषण बाढीपछि केही व्यक्तिको सकुशल उद्धार भएपनि केही अझै सुरुङभित्र जीवन–मरणको दोसाँधमा रहेको बताएका छन् । उनले एशोसिएशनले शुरुदेखि नै सरकारका संयन्त्रहरुसँग सहकार्य गर्नै खोजेको भएपनि सरकार आफैंले सहकार्य नगरेको तथा निजी क्षेत्रका विशेषज्ञ तथा उपकरण पनि उपयोग नगरेको आरोप पनि लगाएका छन् । उनले राज्यको सम्पूर्ण क्षमता परिचालन गर्नुका साथै आवश्यक परे बाहिरबाट जनशक्ति ल्याएर भएपनि सम्पर्कविहीनहरूको सकुशल उद्धार गर्न सरकारसँग माग गरेका छन् । उनले बाढी आएको पहिलो दिनदेखि नै सरकारका सम्बन्धित निकायसँग समन्वय गर्दै आएको पनि बताएका छन् । उनकाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्रका जलविद्युत आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) लगायतका निकायलाई सम्पर्कविहीन व्यक्तिको उद्धारमा तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको थियो । तर अपेक्षित गतिमा उद्धार हुन नसकेको उनको भनाइ छ ।
उनले भने, ‘भीषण बाढीपछि हामीले साथीहरुको सकुशल उद्धार गर्ने क्रममा पछ्याइरहेको अवस्था भएको छ । केही साथीहरु उद्धार भएर सकुशल फर्किनुभएको छ । केही बेपत्ता भइरहनु भएको छ, सम्पर्कविहीन हुनुहुन्छ । र केही साथीहरु अझै पनि जीवन–मरणको दोसाधमा सुरुङ हुनुहुन्छ । उनीहरुको उद्धारको लागि सरकारलाई सहयोग गर्ने भनेर हामीले शुरुको दिनदेखि नै लागिरहेका छौँ । मैले व्यक्तिगत रुपमा पनि हाम्रो कार्यसमितिको तर्फबाट पनि सम्बन्धित निकाय एनडीआरआरएमए,भौतिक मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय लगायत सम्पूर्ण निकायलाई आयोजनाका एनइएका, विद्युत प्राधिकरणका आयोजना प्रमुखहरु, एमडी, प्राइभेट सेक्टरका आयोजनाका आयोजना प्रमुखहरु, इप्पानका अध्यक्ष लगायतलाई हाम्रा साथिहरु पर्नुभएको छ भनेर ध्यानाकर्षण पनि गराएँ । यसमा हामीलाई विश्वास थियो कि सरकारले काम गरिरहेको छ । यसमा हाम्रो सरकारसँग निरन्तर रुपमा समन्वय समेत भइरहेको थियो । तर आज परिणाम आइरहेको छैन । परिणाम आइरह नरहँदा हामीलाई अब एकदम डर पनि लागिरहेको छ, साथीहरु हामीले गुमाउनुपर्छ कि भन्ने पीडा पनि भइरहेको छ । उद्धारमा सरकार चुक्यो जस्तो लाग्छ । जुन गतिमा जति जुन रुपमा उद्धार हुनुपर्ने हो, त्यो रुपमा उद्धार हुन सकेको छैन । म यहीँमार्फत नेपाल सरकारसँग राज्यको पूर्ण क्षमता परिचालन गरेर वा बाहिरबाट जनशक्ति ल्याएर भएपनि साथिहरुको सकुशल उद्धार गर्ने कुरामा चाहीँ कुनैपनि कसुर बाँकी नराखियोस् भन्ने म जोडदार माग गर्न चाहन्छु । अब समय ढल्किसकेको छ ।’
रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाका सुरुङमा कार्यरत ९१० जना प्राविधिक तथा गैरप्राविधिक कर्मचारी सम्पर्कविहीन भएको एशोसिएशनले जनाएको छ । जसमध्ये १ सय ८८ जना इन्जिनियर रहेका छन् । सम्पर्कविहीन भएका इन्जिनियरहरुमा अपर त्रिसुलीमा ६० जना, लाङटाङमा २० जना रसुवागढी हाइड्रोमा २५ जना मेलुङमा ६ जना त्रिसुली ए मा ३० जना सम्पर्कविहीन भएको एसोसिएसनले जनाएको छ ।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार