काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १५ वर्षको मास्टर प्लान आवश्यक रहेको बताएका छन् ।
सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले सडक सञ्जाल, प्रसारण लाइन, रेलमार्ग, विमानस्थल तथा अन्य कनेक्टिभिटी पूर्वाधार लगायतका विषयमा दीर्घकालीन योजना आवश्यक रहेको बताएका हुन् । उनले आयोजना छनोट र बजेट विनियोजनसँगै आयोजना तयारी तथा समयमै निर्माण सम्पन्न गर्ने विषयमा पनि सुधार आवश्यक रहेको बताएका छन् । सार्वजनिक खरिदसम्बन्धी कानूनमा भएका सुधार सकारात्मक भएपनि ठूला आयोजनाका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाई छ । उनले पूर्वाधार विकासलाई सडक निर्माणमा मात्रै सीमित नगरी ऊर्जा, यातायात, लजिस्टिक्स, शहरी विकास, खानेपानी, सरसफाइ र डिजिटल पूर्वाधारलाई एउटै प्रणालीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । यसबाट उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र निजी क्षेत्रको लगानी बढाउन सकिने उनको भनाई छ । उनले ऊर्जा क्षेत्रमा उत्पादन बढाउनेमा मात्रै केन्द्रित नभई ऊर्जा सुरक्षा र बजार विस्तारलाई समेत प्राथमिकता दिनुपर्ने बताएका छन् । प्रसारण, भण्डारण, वितरण र विद्युत् बजारलाई सुदृढ गर्दै ऊर्जा–सघन उद्योग नेपालमा आकर्षित गर्नुपर्ने उनको भनाई छ । विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालाई समेत प्रोत्साहन गर्नुपर्ने र आन्तरिक विद्युत् खपत बढाउने नीति आवश्यक रहेको उनले बताएका छन् । यातायात पूर्वाधारलाई आर्थिक करिडोरको अवधारणाअनुसार विकास गर्नुपर्ने उनको भनाई छ । उनले शहरी पूर्वाधारमा पनि सार्वजनिक–निजी साझेदारी (पीपीपी) को सम्भावना उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार अपरिहार्य रहेको उनले बताएका छन् । भूमि प्राप्ति तथा क्लियरेन्स, वनसम्बन्धी प्रक्रिया लगायतका विषय सहज नबनाएसम्म पूर्वाधार आयोजना अपेक्षित गतिमा अघि बढ्न नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘हामीले पूर्वाधार क्षेत्रलाई ग्रोथ इन्जिन बनाउने हो भने सडक मात्रै होइन, पुरै इकोसिस्टममा इन्टिग्रेटेड सिस्टममा काम गर्नुपर्छ । त्यसमा इनर्जी, ट्रान्सपोर्ट, लजिस्टिक, अर्बान डेभलपमेन्ट, वाटर, स्यानेटिसन, डिजिटल इन्फ्रास्ट्रक्चर समेतको पुरै यसलाई हामीले एकदम एकात्मक रूपमा काम गरेर अह प्रोडक्टिभिटी, कम्पिटिटिभनेस र प्राइभेट सेक्टरको इन्भेस्टमेन्टलाई बढाउने हिसाबले अगाडि बढ्नुपर्छ । हाम्रो लङ टर्म मास्टर प्लानको अभाव छ । १० वर्ष भयो हामीले भन्दै आएको देशको कमसेकम पनि १०–१५ वर्षमा हाम्रो रोड नेटवर्क कसरी जाने हो ? ट्रान्समिसन लाइन कता जाने हो ? रेलवे, एयरपोर्ट देखि लिएर अरू कनेक्टिभिटीका विषयहरू लगायत ओभरअल देशको इन्फ्रास्ट्रक्चर मास्टर प्लान कस्तो हुन्छ ? भन्ने कुराको जानकारी चाहिँ हामी सबैले थाहा पाउनुपर्छ । त्यसमा हामीले काम गर्नुपर्ने आवश्यकता रहेको छ ।’
उनले नेपाललाई हालको करिब ४४ अर्ब अमेरिकी डलरको अर्थतन्त्रबाट सन् २०३९ सम्ममा १०० अर्ब डलर पु¥याउन वार्षिक ६ प्रतिशत वास्तविक आर्थिक वृद्धि आवश्यक रहेको बताएका छन् । त्यसका लागि उपभोगमा आधारित अर्थतन्त्रबाट क्रमशः लगानी, उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ जानुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार