काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचालेर फेरि गिराउने नीति सरकारको नरहेको बताएका छन् ।
बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नियमन, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर सेयर बजारलाई व्यवस्थित बनाउने नीतिअनुरुप सरकारले काम गरिरहेको बताएका छन् । उनले सेयर बजारमा हुने गतिविधिलाई स्वच्छ र नियमनकारी संरचनाभित्र राख्दै आम लगानीकर्ताको लगानी सुरक्षित गर्ने सरकारको नीति रहेको बताए । उनले साना लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर नियामकीय सुधारका कामहरु अघि बढाइएको समेत बताएका छन् । अर्थमन्त्री वाग्लेले सेयर बजारसम्बन्धी सरकारले लिएको नीतिका कारण पछिल्लो चार महिनामा आफूले व्यापक रुपमा आलोचना र गाली सहनुपरेको समेत बताएका छन् । उनले लोकप्रिय भन्दा मुलुकको अर्थतन्त्रमा दीर्घकालीन रुपमा सुधार हुने गरी कार्य भइरहेको समेत बताएका छन् । उनले अबको एकहप्तापछि चालु आर्थिक वर्षको बजेटमा सेयर बजारसम्बन्धी घोषणा गरिएका सुधारका विषयहरु कार्यान्वयनको चरणमा प्रवेश गर्ने उनको दाबी छ । फरक प्रसंगमा बोल्दै उनले एक सय रुपैयाँमाथिको समानमा भन्सार कर रास्वपा सरकार नलगाएको जिकिर गरेका छन् । उनले यसअघिकै सरकारहरुको पालामा बनेको नीतिअनुसार भन्सार महसुल लिँदै आएको बताएका छन् । उनले मधेशमा नेपाली नागिरकले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको भन्दै नागरिकलाई दुःख नदिने र कतिपय कुरामा सरकार उदार हुने बताएका छन् । यद्धपी अवैध व्यापार तथा तस्करी नियन्त्रणका लागि निर्ममतापूर्वक प्रश्तुत हुने सरकारको नीति रहेको बताएका छन् ।
उनले भने, ‘आम मधेशी दाजुभाई दिदिबहिनीहरुलाई दुःख नदिने, सानातिना कुरामा उदार भइदिने तर अवैध व्यापार तस्करीप्रति निर्मम हुने नीतिअनुसार हामी अघि बढेका छौँ । मधेशमा आम नागरिकले झेलिरहेको समस्या तपाईंहरुले पनि सुझाउनुहोला । गृहमन्त्रीजीले प्रहरी प्रशासन र अर्थमन्त्रीले भन्सार प्रशासनलाई कसरी जनमैत्री बनाउँदै लैजाने भन्ने कुरामा हामी तपाईको सुझावको आधारमा अघि बढ्न चाहान्छु । विगत पाँच, छ वर्ष अझ कोरोना भाइरस महामारीपछि जसरी नेपाली अर्थतन्त्र चलेको थियो, जसरी कर्जा प्रवाह गरियो, प्रवाह भएको कर्जा कस्तो क्षेत्रमा लगानी गर्न लगाइए ? वा लगानी भन्ने कुराको गम्भीर विश्लेषण गर्नुभयो भने हामी सही ठाउँमा थिएनौँ । त्यसलाई कोर्ष करेक्सन गरेर दीगो बाटोतिर लैजानु एउटा बलियो र जिम्मेवार सरकारको दायित्व हुन्छ । हामी दुई महिनाको लागि लोकरिझ्याइँको सेयर बजारलाई त्रृmतिम ढंगले ह्वात्तै माथि उछालेर बम्प गरेर फेरी डम्प गर्नको लागि यो सरकार आएको होइन । सरकारले स्वच्छ र नियमनकारी खाकाभित्र बाँधेर आम लगानीकर्ता अझ साना लगानीकर्ताको लगानीको रक्षा गर्दै अगाडि जाने हाम्रो नीति हो । यसको लागि यो चार महिना यहाँहरुले मलाई गाली गर्नुभएको छ । मैले त्यो सबैलाई बिष सरह पचाएर देशको हितको लागि अगाडि बढेको छु । त्यसकारण एउटा सक्षम व्यक्तिलाई नियमाकीय निकायको अध्यक्ष बनाएर लिएर आएको छु । मैले आशा गरेको छु, अर्को एक हप्तापछि धमाधम बोर्डको बैठकहरु बस्दै बजेटमा बोलिएका सुधारहरु कार्यान्वयनतिर जान्छन् ।’
मधेशका नागरिकले भोगिरहेको सुरक्षा र सीमा व्यापारको समस्या सम्बोधन गर्न प्रहरी प्रशासन र भन्सार प्रशासनलाई जनमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार