काठमाडौँ। पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताएका छन् ।
नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पाण्डेले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एउटै मञ्चमा राखेर मुलुकको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने प्रश्ताव गरेका छन् । नेपालमा परराष्ट्र नीतिका बारेमा जनस्तरमा व्यापक चर्चा हुने गरे पनि यसका प्राविधिक पक्ष र कार्यविधि (मोडालिटी) बारे बुझाइको कमी रहेको उनको भनाइ छ । परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) लाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिएका छन् । यसअघि परराष्ट्र मामिलाका सम्बन्धमा विभिन्न समितिहरू गठन गरी सुधारका प्रयास गरिएको स्मरण गर्दै उनले कुटनीतिक नियुक्तिहरूलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने उल्लेख गरेका छन् ।
पाण्डेले भने, ‘हाम्रो विदेश नीतिमा एक विचार र एक दृष्टिकोण हुनुपर्छ भनेर हामी सबै फोरममा भन्छौँ । तर हामी किन त्यसो गर्न सकिरहेका छैनौँ भन्ने विषयमा पनि गम्भीर अध्ययन हुनुपर्छ । सबै राजनीतिक दल र कुटनीतिका अध्येताहरूलाई एउटै फोरममा राखेर अबको नेपालको परराष्ट्र नीति कस्तो हुने भन्नेमा एउटा साझा दृष्टिकोण तय गर्न आवश्यक छ । नेपालमा परराष्ट्र नीतिबारे जनस्तरसम्मै व्यापक बहस हुन्छ । चिया पसलदेखि सबै ठाउँमा ‘डिप्लोम्याटिक रूपमा समाधान गर्नुपर्छ’ भन्ने सुनिन्छ । तर त्यो कुटनीति भनेको के हो ? कसरी गरिन्छ ? त्यसको प्राविधिक ज्ञान र कार्यविधि के हो ? यस्ता प्रश्नको स्पष्ट उत्तर हामीसँग कमै छ । आफूलाई जान्ने ठान्नेहरूले पनि ‘कुटनीतिक रूपमा समाधान गर्नुपर्छ’ भन्छन्, तर त्यसको मोडालिटी के हो भनेर सोध्दा अप्ठ्यारो पर्छ । यस विषयमा हामीले गम्भीरतापूर्वक सोच्न आवश्यक छ । आर्थिक कुटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न पक्षमा हाम्रो क्षमता विकास गर्नुपर्छ । हामीले राजदुत पठाउने मुलुकहरूको संस्कृति, राजनीतिक प्रणाली, मूल्य–मान्यता, अर्थतन्त्र र उनीहरूको विदेश सम्बन्धबारे सम्बन्धित व्यक्तिलाई पर्याप्त ज्ञान र अध्ययन हुनुपर्छ। त्यसले मात्र हाम्रो कुटनीतिलाई प्रभावकारी र राष्ट्रिय हितअनुकूल बनाउन सक्छ ।’
राजदुत नियुक्ति गर्दा सम्बन्धित मुलुकको संस्कृति, राजनीतिक प्रणाली, मूल्य मान्यता, अर्थतन्त्र र सो देशको वैदेशिक सम्बन्धका बारेमा नियुक्त हुने व्यक्तिलाई पूर्ण ज्ञान हुनुपर्ने पाण्डेको तर्क छ । आर्थिक कुटनीति र अन्य कुटनीतिक भुमिकाहरूलाई प्रभावकारी बनाउन योग्य र विषयविज्ञ व्यक्तिको चयन अनिवार्य रहेको उनले बताएका छन् ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार