काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जिम्मेवार असहमतिलाई लोकतन्त्रको कमजोरी नभई शक्तिको रूपमा लिनुपर्ने बताएका छन् ।
‘अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको उल्लेख गरेका छन् । उनले यहाँ फरक मतहरूले स्वतन्त्र रूपमा प्रष्फुटन हुने अवसर पाउनुपर्नेमा जोड दिएका छन् । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको सन्दर्भ उल्लेख गर्दै उनले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता एवं प्रश्न गर्नसक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने धारणा व्यक्त गरेका छन् । लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एकअर्काका पूरक भएको चर्चा गर्दै राष्ट्रपतिले राज्यका सबै अङ्गले यसको मर्मलाई आत्मसात गर्नुपर्ने बताए । आफूले यिनै लोकतान्त्रिक आदर्श र दर्शनका निम्ति जीवनको महत्वपूर्ण समय सङ्घर्षमा व्यतीत गरेको समेत उनले स्मरण गरेका छन् । सूचना प्रविधिको तिब्र विकास र प्रतिष्पर्धासँगै समाजमा मिथ्या सूचना सम्प्रेषण गरी नागरिकलाई दिगभ्रमित पार्ने चुनौती बढेको प्रति सचेत गराउंदै उनले यस्ता चुनौतीहरूको डटेर सामना गर्दै जनतामाझ सत्य र सही सूचना पु¥याउन अनलाइन खबर जस्ता जिम्मेवार सञ्चार माध्यमहरू सफल हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति पौडेलले भने, ‘नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर हो । यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्छ । असहमति लोकतन्त्रको कमजोरी होइन, जिम्मेवार असहमति यसको शक्ति हो । यही शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई लक्ष्यमा पु¥याउँछ भन्ने मेरो विश्वास छ । हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ । स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस तथा प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्छ । लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्नेकुरा पनि हामीले बिर्सनु हुँदैन । यसै दर्शनका लागि सङ्घर्ष गर्दै मैले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको स्मरण गर्न चाहन्छु । प्रविधिको तिब्र विकाससँगै मिथ्या सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्ने चुनौती पनि बढेको छ । यस चुनौतीको सामना गर्दै जनतासम्म सही र तथ्यपूर्ण सूचना पु¥याउन अनलाइनखबर जस्ता जिम्मेवार सञ्चारमाध्यमहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
राष्ट्रपति पौडेलले सञ्चार क्षेत्रले व्यावसायिक निष्ठा कायम राख्दै नागरिकलाई सुसूचित गर्ने कार्यमा सफलता प्राप्त गर्ने विश्वासका साथ शुभकामना समेत व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार