काठमाडौँ। पूर्वमन्त्री एवं पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले मुलुकमा बढ्दै गएको युवा पलायन, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गरेका छन् ।
‘अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै सिन्हाले नेपाली युवाहरूले स्वदेशमै अवसर र शान्ति सुव्यवस्थाको खोजी गरिरहेको बताएका हुन् । सिन्हाले वैदेशिक रोजगारीमा गएका युवाहरूको अवस्था र उनीहरू फर्कंदा भोग्नुपर्ने पीडादायी यथार्थको चर्चा गरेका छन् । उनले गाउँघर रित्तिँदै गएको र नागरिकको दैनिक जीवन झनै जटिल बन्दै गएको भन्दै निराशाका बीच युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा ओर्लिएर आवाज उठाउनुले उनीहरू मौन छैनन् भन्ने प्रमाणित गरेको उल्लेख गरेका छन् । वि.सं. २०८२ को संवैधानिक संकटको समयमा सम्माननीय राष्ट्रपतिले निर्वाह गरेको भुमिका र तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले सम्पन्न गरेको निर्वाचनको उनले स्मरण गरेका छन् । १ करोड १२ लाखभन्दा बढी नागरिकको सहभागितामा भएको उक्त निर्वाचनले नेपाललाई विषम परिस्थितिमा पनि लोकतन्त्र धान्न सक्षम राष्ट्रका रूपमा विश्वमा स्थापित गरेको उनको तर्क छ ।
उनले भने, ‘जीवनको ऊर्जावान् समय प्रवासमा बिताएर स्वदेश फर्कंदा कतिपय शारीरिक चुनौतीका साथ त कतिपय बन्द बाकसमा फर्किनुपर्ने दुःखद् अवस्था छ । अब कुनैपनि नेपालीले ज्यान गुमाउन नपरोस् र कसैले पनि औपचारिकताको आँसु बगाउनु नपरोस् । जनताले आफ्नो जनादेशको अवमूल्यन भएको देख्न चाहँदैनन् । प्रतिशोध साध्ने, जडसुत्रवादी प्रवृत्ति कायम राख्ने वा आर्थिक क्षेत्रमा त्रास सिर्जना गरी शक्ति प्रदर्शन गर्न जनताले मत दिएका होइनन् ।’
सम्बन्धित निकायलाई यस्ता विषयमा गम्भीर र संवेदनशील हुन समेत उनले आग्रह गरेका छन्।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार