Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ : रेशम चौधरी


सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ : रेशम चौधरी

काठमाडौँ।नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिवद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताएका छन् । उनले सरकारले नागरिकमाथि करको भार थोपरेको पनि आरोप लगाए । सरकारको सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उनको भनाई छ । चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिएका छन् । सरकारप्रति कोही सन्तुष्ट बन्न नसकेको उनको भनाई छ । गाउँका किसान धान न्युन मूल्यमा विक्री गर्न बाध्य भएको उनले दाबी गरे । उनकाअनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा विक्री गरेपनि विचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ । उनले आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको बताएका छन् । देश निर्माणमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाई छ ।

उनले भने, ‘राजनीतिमा छलछल हुन्छ, छलैछल हुन्छ । तीन महिना पहिले चुनाव भन्दा अगाडी हामीले धेरै भाषण सुन्यौँ, विदेशबाट काम गर्ने युवाहरुलाई भित्र्याउँछौँ भने, अहिले ती साथीहरु बाहिरै जाँदैछन् । यो देशमा सुशासन हुन्छ भन्थे, यो देश अब अनलाईन–बाट चल्छ भन्थे, यो देश अब ग्यासको लाईन–बाट चल्ने भएको छ । यो देशमा धेरै कुरामा हामी सुशासन दिन्छौँ भन्थे, नागरिकले प्रत्याभूति गर्छन् महङ्गी भयो भ्रष्टाचार भयो भन्थे । आज पढ्ने विद्यालयमा छोरीको फिस तिर्दा ट्याक्स तिर्नुपरेको छ । आमालाई जोरो आउँदा अस्पताल लाँदा खाइदिने एउटा सिटामोलबाटी ट्याक्स तिर्नु परेको छ । अरे वाह ! कस्तो सरकारको रजगजमा छौँ हामी, सबै कुरामा कर थोपेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ । होइन, यो छल भयो, यो कपट भयो, कर त हामी तिरौँला नि, कर तिर्नेले तिरे कि तिरेनन्, त्यहाँ हेर्नुपर्छ, कर त तिर्नेले तिरेनन् जस्तो लाग्छ । म अहिले गाउँ तिर बस्छु, किसानको जीवनयापन गरेको छु । चैते धान असारमा बेच्दा किसानहरुले २५०० रुपैयाँ क्विन्टलमा बेचे । यो देशमा किसानले उत्पादन गरेको धान २५०० रुपैयाँ क्विन्टलमा किसान बेच्न बाध्य भए । त्यही धान एउटाले किन्छ, महाजनले किनेर पारीबाट बिल बिजक ल्याउँछ, सरकारलाई अलि–अलि कर बुझाउँछ र नेपाली नागरिकलाई १७ हजारमा बेच्छ, वाह ! देशलाई बनाउनका निमित्त हामी पनि सहयोगी हुन्छौँ नि, हामी कहाँ बाधक छौँ र ? हामी जिन्दावाद र मुर्दावादको नारा लगाएर सडक घेर्न गएका छैनौँ, हामी धर्ना बस्न गएका छैनौँ । हामीले आजको मोर्चाको यस मन्चबाट केवल आफ्ना केही कुराहरु फुसफुसाएका मात्रै हौँ । सरकार, हाम्रा कुरा पनि सुनिदेउ है । हाम्रा कुरा नसुनीकन यो अग्रगामी मोर्चाको गठन भयो, हाम्रा कुरा नसुन्दै जाने हो भने बिस्तारै हामीले फुसफुसाएका आवाजहरु स्वरमा परिणत हुन थाल्छन् । ती स्वरलाई पनि सुनिएन भने चिच्याहटमा परिणत हुन थाल्छन्, त्यो चिच्याहटलाई पनि सुनिएन भने जिन्दावाद र मुर्दावादको नारामा परिणत हुन थाल्छन् । जब जिन्दावाद र मुर्दावादको नारा अगाडि बढ्न थाल्छ नि, त्यसपछि बल्ल प्राप्ति हुन्छ, यो देशमा प्राप्ति त्यसै भएको छैन ।’

चौधरीले सरकारले आफूहरूको आवाजलाई बेवास्ता गर्दै गएमा आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने चेतावनी समेत दिएका छन् । सरकारले आफूहरूको माग र सुझावलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै चौधरीले नागरिकको आवाज बेवास्ता नगर्न सरकारलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?