Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै


१ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ ।

देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ ।

सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए । पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको छ । “पहिला जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ”, उनले भने ।

सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोेले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ ।

बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन् । सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । साहित्यकार रमेश पन्त मीतबन्धु यसलाई विष फाल्ने पर्वका रूपमा लिने गरिएको बताउछन् ।

आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ । आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ ।

यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ । आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन् ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?