Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कालीगण्डकीमा भक्तजन स्नान गर्दै


१ वैशाख ,रामपुर (पाल्पा) । वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ ।

कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत वर्षमा कोरोना महामारीका कारण उपस्थिति कम रहे पनि यसपटक भने उल्लेख्य सङ्ख्यामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट भक्तजन आएका छन् ।

नदीमा स्नान गरेपश्चात् लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको लक्ष्मीनारायण गुठी रामघाटका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउछन् । आजको दिन यस घाटमा भगवान् रामले बनवास जाने क्रममा यहाँ आएर तपस्या गरेको र दिनहुँ नदीमा नुहाउने गरेका कारण रामघाटलाई विशेष महत्वका साथ धेरै ठाउँबाट स्नान गर्न आउने गरेको उनले बताए ।

तातोपानीघाटमा स्नान गरेर नजिकै रहेको रामपुर नगर गौशालामा गाईको पूजा तथा गाईलाई आहार खुवाउनेको घुइँचो लागेको गौशालाका व्यवस्थापक पिताम्बर भण्डारी बताउछन् ।

नयाँ वर्ष २०८० को पहिलो दिन आज घरपरिवार, साथीभाइ, आफन्तजनसहित यहाँ आएर स्नान गर्ने तथा एकापसमा खुसी साटासाट गरिरहेका छन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।

पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधामलगायतका घाट तथा धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । वैशाखे सङ्क्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो । कालीगण्डकी स्नान गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मीलगायतका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच मोदीबेनी र सेतीवेणीमा भने सङ्क्रान्तिको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि भजनकीर्तनलगायतका कार्यक्रम गरिएको छन् । दामोदरकुण्ड र कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै राम्रो हुने विश्वास रहिआएको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?