काठमाडौ। नेकपा (एमाले) का सांसद गुरु बरालले प्रधानमन्त्री बालेन्द्र साहले नेपालको सीमानाका विषयमा दिनुएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले जिम्मेवार भएर प्रश्तुत हुनुपर्ने बताएका छन् । सांसद बरालले नेपालले छिमेकी राष्ट्रको भूमि मिचेको भन्ने आशयको प्रधानमन्त्रीको भनाइप्रति प्रश्न उठाएका छन् । नेपालको ऐतिहासिक स्वतन्त्रताको चर्चा गर्दै बरालले नेपाल भारतभन्दा अगाडि नै स्वतन्त्र राष्ट्र रहेको र यसले कहिल्यै अर्काको पराधीनता स्वीकार नगरेका कारण स्वतन्त्रता दिवस मनाउनु नपर्ने तथ्य उल्लेख गरेका छन् । सुगौली सन्धिपश्चात मेचीदेखि महाकालीसम्मको जुन भूगोल कायम भएको छ, सो क्षेत्रभित्र नेपालले कसैको पनि सिमाना नमिचेको उनले प्रस्ट पारेका छन्।
सांसद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देशको गरिमा र राष्ट्रिय स्वार्थमा आँच पु¥याएको भन्दै यसको आधिकारिक पुष्ट्याइँ गर्न चुनौती दिए । यदि प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्यपूर्ण पुष्ट्याइँ गर्न नसकेमा नैतिक रूपमा जिम्मेवारी लिँदै संसद र देशसामु माफी माग्नुपर्ने उनको माग छ । आफूहरूको योजना सदनमा निरन्तर अवरोध गर्ने नभई राष्ट्रियताका गम्भीर विषयमा सरकारलाई जिम्मेवार बनाउनु रहेको समेत उनले स्पष्ट पारेका छन् ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार