बर्लिन। जर्मनीको राजधानी बर्लिनमा आइतबार (२४ मे) आयोजना हुन गइरहेको विश्वप्रसिद्ध बहुसांस्कृतिक सडक महोत्सव ‘Karneval der Kulturen’ मा नेपालले मौलिक कला संस्कृति मार्फत जलवायु परिवर्तनको असर प्रस्तुत गर्ने भएको छ। विश्वका ६० भन्दा बढी देशहरूको सहभागिता रहने उक्त महोत्सवमा नेपालले ‘Nepali Heritage Troupe’ का रूपमा आफ्नो कला, संस्कृति र मौलिक पहिचान प्रस्तुत गर्ने तयारी गरेको हो।
हरेक वर्ष लाखौं दर्शकहरूको उपस्थिति रहने यस महोत्सवलाई विश्वकै महत्वपूर्ण बहुसांस्कृतिक उत्सवमध्ये एक मानिन्छ। विभिन्न देशहरूले आ–आफ्नो भाषा, संस्कृति, संगीत, नृत्य तथा परम्परालाई झल्काउने झाँकी प्रस्तुत गर्ने गर्दछन्।
यस वर्षको नेपाली प्रस्तुतिमा जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्र, जनजीवन, संस्कृति तथा वातावरणमा पारेको प्रभावलाई विशेष रूपमा समेटिने आयोजकले जनाएको छ। हिमाल, जैविक विविधता, हिमाली संस्कृति तथा प्रकृति संरक्षणसम्बन्धी सन्देशलाई कलात्मक ढंगले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने बताइएको छ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
महोत्सवका लागि बर्लिनस्थित नेपाली राजदूतावासको समन्वयमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) जर्मनी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) जर्मनी, क्षेत्रीय समन्वय समिति(एलसिसी) बर्लिन–ब्रान्डेनबर्ग तथा क्षेत्रीय समन्वय समिति(एलसिसी) हेसेनको सहकार्यमा महोत्सवको तयारी गरिएको हो ।
कार्यवाहक राजदूत सागरप्रसाद फुयालका अनुसार महोत्सवमा नेपालको प्रस्तुति भव्य र व्यवस्थित बनाउन केही महिनाअघिदेखि तयारी सुरु गरिएको थियो। उनले नेपाली समुदाय, तथा संघसंस्थाहरूको सक्रिय सहकार्यले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नेगरी सहयोग बताए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका वरिष्ठ उपाध्यक्ष राजेश सुनार अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण भएको बताए । उनले यस्ता कार्यक्रमहरूले नेपाली पहिचानलाई विश्वसामु परिचित गराउन र जानकारी दिन र मुलुकको अर्थतन्त्रलाई समेत मजबुत रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए ।

ईनास अध्यक्ष लेजुना श्रेष्ठ अनुसार यस वर्षको बर्लिन कार्निभलमा नेपालको हिमाली क्षेत्र, हिमालयको प्राकृतिक सौन्दर्य, हिमाली जनजीवन, जैविक विविधता तथा जलवायु परिवर्तनका कारण परेको असरलाई मुख्य विषयवस्तु बनाइएको छ। उनले नेपालको मौलिकता, सहिष्णुता र सांस्कृतिक समृद्धिको सन्देशमार्फत प्रकृति संरक्षण र मानवताको साझा उत्तरदायित्वप्रति अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने उद्देश्य रहेको जानकारी दिईन। उनका अनुसार महोत्सवमा सहभागीताका लागि जर्मनीभरिका नेपाली समुदाय,व्यवसायी,कलाकार तथा शुभेच्छुकहरूबाट आर्थिक सहयोग संकलन गरिएको हो । हेरिटेज ग्रुपको नेतृत्व सुनिल राणा र निरोज नेपालीले गरिरहेका छन् ।महोत्सवको लागि नृत्यको समन्वय अध्यक्ष श्रेष्ठ र ईनास अनिता मोक्तानले गरेका थिए।

नेपालले सन् २०१२ देखि निरन्तर रूपमा उक्त महोत्सवमा सहभागिता जनाउँदै आएको छ। सन् २०२४ मा नेपालले करिब ६० वटा अन्तर्राष्ट्रिय समूहलाई पछि पार्दै उत्कृष्ट प्रदर्शनसहित पहिलो स्थान हासिल गरेको थियो ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आईतवार