काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारको नीति तथा कार्यक्रमको मूल जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै उहाँको अनुपस्थितिमा संसदको कामकारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन् ।
बुधवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बरालले नीति तथा कार्यक्रम कार्यकारिणीको तर्फबाट प्रधानमन्त्रीले नै प्रश्तुत र रक्षा गर्नुपर्ने धारणा राखेका छन् । उनले राष्ट्रपतिद्वारा प्रश्तुत नीति तथा कार्यक्रमका क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सांसद बरालले प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीमार्फत जवाफ दिने वा छलफल अगाडि बढाउने कार्य गरिए प्रतिपक्षले त्यसको प्रतिवाद गर्ने स्पष्ट पारेका छन् । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को साझा दस्तावेज भए पनि यसको नेतृत्वकर्ताको हैसियतले प्रधानमन्त्रीले नै संसदमा जवाफ दिनुपर्ने र यसबाट उहाँ उम्किन नमिल्ने उनको तर्क थियो । नीति तथा कार्यक्रममाथिको छलफललाई छोटो बनाएर कर्मकाण्डी प्रक्रियामा मात्र सीमित राख्न खोजिएको भन्दै सांसद बरालले सत्ता पक्षले विवेकभन्दा बलको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
उनले भने, ‘अस्ति राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बीचमै हिँडेको हामीले महसुस गरेका छौँ। आज उहाँ स्वयम् उपस्थित भएर छलफलमा उठेका प्रश्नको जवाफ दिनुपर्छ र संसदप्रति जवाफदेही बन्नुपर्छ । अध्यादेशबाट देश चलाउने तरिका लोकतान्त्रिक पद्धतिमाथि गम्भीर प्रहार हो। संसदको बैठक चलिरहेको अवस्थामा अध्यादेशको भार बोकाउनु गलत नजिर हो ।’
सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको प्रति आपत्ति जनाउँदै उनले भने, उहाँले हाल मुलुकमा कुनै संकटकालीन अवस्था नरहेको अवस्थामा पनि अध्यादेश ल्याउनुलाई ‘बहुमतमा आधारित निरंकुशतावादी कार्यशैली’ को संज्ञा दिएका छन् ।
सांसद बरालले नेपाली सेनाको भूमिका र मर्यादाका विषयमा समेत टिप्पणी गरे । सेना राष्ट्रको पहरेदार भएको उल्लेख गर्दै उनले सुकुम्बासी बस्ती खाली गराउने जस्ता कार्यमा सेनाको प्रयोग हुनु वा सेनाले सिधै पालिकाहरूलाई चिठ्ठी लेखेर विवरण माग्नु संवैधानिक र लोकतान्त्रिक अभ्यास विपरीत भएको जिकिर गरेका छन् ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार