काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रश्ताव गरेकी छिन् ।
बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले नेपालले शान्ति र सगरमाथाको शीतललाई अर्थतन्त्र निर्माणको बलियो आधारमा रुपमा अघि बढाउनुपर्ने बताएकी हुन् । मुलुकको अर्थतन्त्र वर्षौदेखि रेमिटयान्सको भरमा चलेको उल्लेख गर्दे सांसद अधिकारीले प्रविधिको विकासका लागि विश्वमा रहेका विज्ञहरुलाई नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतामा रमाई काम गर्ने वातावरण बनाउन पनि सरकार लाग्नुपर्ने बताइन् ।
उनले भनिन्,‘यो धर्तीको शान्ति र सगरमाथाको शीतलतालाई अर्थतन्त्रको बलियो आधार बनाउने कि ? वर्षाैवर्ष रेमिटयान्सकै भरमा यसरी बाँचिरहने ? अव हामीले वर्किङ नेपाल मात्रै होइन, विश्वलाई नै वर्क फ्रम नेपालको निम्ति निम्तो दिनुपर्छ । प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरुलाई डिजिटल नो म्याट भिसा दिएर हाम्रो कला, संस्कृति, चाडपर्वले समृद्ध तराई, मधेस र हिमालको विविधता रमाई काम गर्न आकर्षित गरौँ ।’
सांसद अधिकारीले नेपालको भौगोलिक विविधता र समृद्ध कला संस्कृति विश्वका जोकोहीलाई लोभ्याउने उल्लेख गर्दै उनले विश्वका प्रविधिका विज्ञहरुलाई नेपालमा नै बसेर काम गर्नसक्ने गरी आवश्यक भिसाको व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएकी छिन् ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार