Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अस्पतालको भवन नबन्दा सेवा प्रभावित


म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशतमात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण सुरु भएको थियो । तेस्रोपटक थपिएको म्याद सकिन चार महिना बाँकी रहँदा व्यवसायीले दुई वर्षदेखि सुस्ताएको भवन निर्माणको काम अघि बढाएको छैन । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।

“पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ”, उहाँले भन्नुभयोे, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ । विशेषज्ञ चिकित्सक आएका छैनन् ।” स्थानीय तह, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधि, स्थानीय प्रशासन, आयोजनाका साथै विभाग र मन्त्रालयमा पुगेर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले दबाब दिएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले विसं २०७३ मङ्सिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु २४ करोड चार लाख २९ हजार आठ सय ६९ लागत अनुमान गरिएको थियो ।

हालसम्म रु १० करोड ९२ लाख २७ हजार छ सय १४ भुक्तानी भएको आयोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीनवटा भवन निर्माणको हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन तला ढलान र पलास्टर भइसकेको भवनमा टायल राख्ने, रङरोगन, विद्युत्, पानी र फर्निचर जडानलगायतका काम बाँकी छन् । आयोजना प्रमुख सुनिता श्रेष्ठले समग्रमा ६० प्रतिशत र भवनको मात्र ७० प्रतिशत भौतिक प्रगति भएको यो योजनाको अन्तिम तथा तेस्रोपटक थप भएको म्याद २०८० जेठ २४ गते सकिने बताउनुभयो । “पटक–पटक मौखिक र लिखितरूपमा ताकेता गरिएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त जनशक्ति परिचालन र निर्माण सामग्री जुटाएर कामलाई तीव्रता नदिए ठेक्का तोड्ने चेतावनी दिएका छौँ ।” महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह हुनुहुन्छ ।

यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिनुभएको थियो । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोनाका कारण देखाएर तेस्रो पटकसम्म म्याद थप भएको हो । आयोजनाले पत्र पठाएको र म्याद थप गर्नुपर्ने समयमा केही मजदुर ल्याएर काम गराउने निर्माण व्यवसायी अन्य समयमा सम्पर्कविहीन हुने गरेका छन् । नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचारकक्ष (आइसीयू) र डायलायसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । पन्ध्र शय्या क्षमताको अस्पताल विसं २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्रीसमेत हुनेछ । भुइँतलामा मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अप्रेशन थिएटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।


प्रकाशित मिति: २७ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?