काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने ओलीको भनाइ छ । उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवद्र्धनमा निर्वाचनले सकारात्मक भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस निर्वाचनले देशमा लोकतन्त्रको पुनःस्थापना गर्नुपर्दछ । अराजनीतिक र अराजक क्रियाकलाप, हिंसात्मक गितिविधि र हिंसात्मक प्रवृत्तिहरुलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्वपूर्ण योगदान गर्नुपर्दछ । यसले लोकतान्त्रिक बाटोबाट फेरि संविधानलाई ट्र्याकमा ल्याएर देशलाई स्थिरता र स्थायित्वका साथ देशलाई सुशासनको बाटोमा अगाडि बढाउनुपर्दछ । देशको शान्ती, सुव्यवस्थाका साथै मुख्य कुरा देशलाई बचाउने कुरा छ । देशको अस्तित्व, देशको स्वाधिनता र राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धन गर्नुपर्नेछ । यस निर्वाचनले शान्तीको पक्षमा भएका, सुशासनको पक्षमा भएका, विकासको पक्षमा भएका अनुभवी, देशभक्तहरुलाई अत्याधिक बहुमतले विजयी गराउनुपर्नेछ ।’
उहाँले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गर्नुभयो ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार