काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उहाँले एमाले भने कुनै अल्मलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट पार्नुभएको हो । अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशि खर्च भइसकेकोतर्फ ध्यानाकर्षण गराउनु भयो । उहाँले विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताउनु भयो । निर्वाचन स्थगित हुने हल्ला चले पनि एमाले नअल्मलिईकन अगाडि बढ्ने र चुनाव जित्नैपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअल्मलीकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अल्मल गर्नु हुँदैन । ६ महिना हामीले कोशिस ग¥यौं । हामीले कोशिस गरिन्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनु हुँदैन भनेर । देशको खर्च नहुनु पथ्र्यो अर्बौं खर्च त भई नै सक्यो। उम्मेदवारको खर्च नहुनु पथ्र्यो भई नै सक्यो । यत्रो म्यादी प्रहरी भनेर चुनावी प्रहरी डेढ लाखको संख्यामा भर्ना गरेर त्यसमा पनि खर्च भइसक्यो । उनीहरूलाई प्रारम्भिक तालिम । इत्यादि आवश्यक तालिम पनि दिइसकियो । अब कार्यक्षेत्रमा खटाई पनि सकियो । सबै कुरा भइसक्यो । निर्वाचन अब हुनु राम्रो हुन्छ । अर्को कुरा, सायद साह्रै उम्लिएको । सानो भाँडोमा दुध उमालेर राखेर तलबाट बेसरी चर्को आगो बाल्दिए जस्तै गरेर उम्लिएको कुनै आधार नभएको एउटा जोडजाम वाला पार्टी छ । साह्रै उम्लिएको थियो । जित्दैनौ भन्ने परेछ क्यारे अब अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने त्यस प्रकारका कामबाट उसले क्रियाकलापहरू शुरु ग¥या छ ।’
विपक्षीहरूले अत्तालिएर वातावरण बिथोल्न खोजेको आरोप लगाउँदै ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले निर्वाचनको तयारीबाट पछि नहट्ने र विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आईतवार