Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

सर्वपक्षीय बैठकः चुनावमा केन्द्रित हुन सरकारलाई दलहरुको आग्रह


काठमाडौँ। राजनीतिक दलहरुले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।

शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सुरक्षा निकायहरुले सुरक्षा निकायहरुले सुरक्षाको स्थिति तथा निर्वाचन आयोगले निर्वाचनको तयारीका बारेमा ब्रिफिङ गरेका थिए । शान्ती सुरक्षाको वातावरण बनिनसकेको कारण विशेष रणनीतिका साथ यसमा काम गर्नुपर्ने सुझाव दलहरुले दिएको ज्वालाको भनाइ छ ।

उनले भने, ‘राजनीतिक दलहरूले सरकारलाई प्रष्ट रुपमा यो चुनावी सरकार हो, चुनावमै अर्जुनदृष्टि लगाउनुपर्यो । यो सरकारले यताउता ध्यान दिने काम गर्नु भएन । चुनावमा केन्द्रित होस् । शान्तिसुरक्षाको वातावरण अझै बनाउनेगरी अघि बढोस् भन्ने सुझाव दिएका छौं । प्रधानमन्त्रीले हामीलाई सहयोग गर्नुस् । हामी निर्वाचन गराउन तत्पर छौं । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको कुरा सुनाउनुभयो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले संविधानको संरक्षण र समाजमा विधिको शासन स्थापित गर्न निर्वाचन अपरिहार्य आवश्यकता भएको कुरा राजनीतिक दलहरुले बैठकमा राखेको बताइन् । उनले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता सरकारको तर्फबाट आएको पनि बताएकी छिन् ।

उनले भनिन्, ‘पछिल्लो पटक बनेको सरकार संविधानबाहिर गएर बनेको हो । यो सबै कुरा हामी सबैले स्वीकारेकै अवस्था छ । संविधानलाई ट्र्याकमा ल्याउनको लागि निर्वाचन गराउनुपर्छ । यसको लागि आयोग, राजनीतिक दल र सुरक्षा निकायहरुले पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । विस्तारै निर्वाचनको वातावरण बन्दै गएको अवस्था छ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समयमै निर्वाचन सम्पन्न गर्ने कुरामा राजनीतिक दल र सरकार प्रतिबद्ध भएर लाग्ने कुरा बैठकमा भएको बताएका छन् । सरकारले निर्वाचनको वातावरण निर्माण गरे निर्वाचनमा भाग लिन सबै दलहरु तयार रहेको दलहरुको तर्फबाट धारणा आएको मन्त्री खरेलको भनाइ छ ।

बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि र सरकारको तर्फबाट प्रधामन्त्रीसँगै केही मन्त्रीहरु समेत सहभागि रहेका थिए ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?