काठमाडौँ। जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् ।
बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् । उनले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताएका छन् । जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन् । जेन–जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिनुभएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।
उनले भने, ‘समग्र हामी जेन–जी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भने मलाई चिनाइएको हो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’
आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिनुभएको ठहर हुने भन्दै गृहमन्त्रीले जेन–जीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाउनुभएको उनको टिप्पणी छ ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहीबार