काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई बढावा दिइरहनुभएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा उनले जेन—जी विद्रोहपछि सत्ताच्युत भएका ओलीले सडकमा आतंक सिर्जना गर्ने मनसाय राखेर अभिव्यक्तिहरु दिइराखेको आरोप लगाएका छन् । सरकारको अनुमति विना सडक प्रदर्शनमा जानुपर्ने, सरकारले बनाएका छानविन समिति, संरचनाहरुको नमान्य लगायतका ओलीका अभिव्यक्तिले देशलाई मुटभेडतिर लाने हो कि ? भन्ने शंका उत्पन्न भएको उनले बताए । उनले वर्तमान सरकार पनि जिम्मेवार नवनेको बताउदै जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा संविधानका केही मर्महरुलाई कुल्चिएर भएपनि निर्वाचन गर्नको लागि बनेको सरकार निर्वाचन गराउन गम्भिर नभएको उनको भनाई छ । सरकारमा रहेका कतिपय मन्त्रीहरुको अभिव्यक्तिले चुनावी वातावरणलाई बिगार्ने पनि उनले बताएका छन् ।
उनले भने, ‘तत्कालिन प्रधानमन्त्री केपी ओलीले अहिले पनि त्यही खालको अराजकतालाई बढावा दिनेखालको हिसावले सडकमा आतंक सिर्जना होस् भन्ने मनसाय राखेर अभिव्यक्तिहरु दिइराख्नुभएको छ । अहिले पनि हामी संविधान मान्छौँ, नियम कानून मान्छौँ भनेर यही संविधान र कानूनअनुसार चल्ने हामी राजनितिक पार्टीका प्रतिनिधिहरु हौँ, राजनितिक पार्टीहरु छौँ । तर हिजो मात्रै उहाँको पार्टीको एउटा संगठनका कार्यकर्ताहरुलाई निर्देशन दिँदा सरकारको अनुमति नलिइकन पनि सडकमा प्रदर्शनमा जानुपर्छ भन्ने जुन खालको अराजक अभिव्यक्ति दिनुभयो । यसले कतै न कतै यो देशलाई मुटभेड तिर लाने हो कि ? उहाँ भन्नुहुन्छ, विभिन्न खालको सरकारले संरचना, सरकारले बनाएको छानबिन आयोगका प्रति अथवा सरकारकाप्रति उहाँको जुन खालको टिप्पणी छ । यसले अझै पनि देशलाई रणभूमिको मैदान बनाउने खालको अभिव्यक्तिहरु आएका छन्, यो आपत्तिजनक छ । त्यसैगरी सरकारको नेतृत्व जुन विषम परिस्थितिमा संविधानका केही मर्महरुलाई कुल्चिएर भएपनि सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभएको छ, निकै छलफल गरे निकै जुक्तिका साथ, असाध्यै अप्ठ्यारो परिस्थितिबाट मुलुकलाई जोगाइएको छ । देशको सार्वभौमिक सत्ता र संविधान जोगाउन सकिएको छ । यसलाई हामीले चाहिँ जोगाएर जानुपर्छ । चुनावका माध्यमद्वारा हामी चाहीँ त्यसलाई फेरि संस्थागत गर्न जानुपर्छ भनेर जुन खालको भन्नुभएको छ, र त्यही एउटा चाहीँ नि कार्ययोजना सरकारलाई दिएर फागुन २१ को चाहिँ नि चुनाव गराउने एउटा चाहिँ नि काम दिएर चाहीँ सरकार गठन भएको छ । तर सरकारमा बस्ने र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीज्यु लगायतका कतिपय मन्त्रीज्यूहरुको अभिव्यक्ति हेर्दाखेरि त्यो चुनावतर्फ जानका लागि उपयुक्त वातावरण बनेको छैन जस्तो हामीलाई आभास हुन्छ ।’
उनले सरकारलाई निर्वाचन गर्ने वातावरण बनाउनको लागि राष्ट्रिय सभा र यस अन्तर्गतका समितिहरु सक्रिय हुनुपर्ने बताएका छन् ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार