Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

निर्वाचन भयरहित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की


काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध रहेको बताएकी छिन् ।

बुधवार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल संवत ११४६ न्हुँद समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्नुपर्ने दायित्व पनि अहिलेको सरकारसँग रहेको जिकिर गरेका छन्। निर्वाचन सम्पन्न गराउन सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताइन् । गत भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनबाट बनेको सरकारलाई फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी रहेको बताइन् । सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन—जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताएकी छिन् ।

उनले भनिन्, ‘२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु । आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध छ । यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

नेपाल संवत नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको जिकिर गरेकी छिन् । प्रवर्तक शंखधर साख्वा एक व्यापारी मात्र नभइ समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको बताइन् । नेपाल संवतको संवद्र्धन, प्रवद्र्धन र व्यावहारिक कार्यान्वयनका लागि नागरिकको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार रहेको बताइन् । नेपाल संवत नेपाली धर्तीमा उत्पत्ति भएको, नेपाली जनताले यसको प्रादुर्भाव गरेका बताइन् । तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्वपूर्ण धरोहर भएको जिकिर गरेकी छिन ।


प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?