काठमाडौँ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । उनले संविधानभन्दा बाहिर गएर सरकार निर्माण भएकोले यसको परिणाम भविष्यमा थप व्यहोर्दै जानुपर्ने बताएका छन् । हाल राज्यशक्ति सम्पूर्ण रुपले समाप्त भएको उनको भनाई छ । उनले नेपालमा भएको जेन—जी आन्दोलनको बारेमा पनि आशंका व्यक्त गरेका छन्। उनले यो आन्दोलन कहीँ कतैबाट परिचालित भएको हो की भन्ने लागेको पनि बताए । उनले भारतीयहरुले केपी ओली सरकारलाई जवाफ दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो गतिविधि गरेको भन्ने गरेको उल्लेख गरेका छन् । ऐतिहासिक धरोहरहरु ध्वस्त भएको हेर्दाखेरी पनि यो आन्दोलन कसैले बदला लिनको लागि गरेको जस्तो देखिएको उनको दाबी छ । जेन—जीले संसारमा यस्तो कहीँ पनि नगरेको उनको भनाई छ । उनले यसलाई अराजकताको संज्ञा दिएका छन् ।
उनले भने, ‘दुर्घटना भएको छ, राज्यशक्ति सम्पूर्ण रुपले समाप्त भएको अवस्था छ र संविधानभन्दा बाहिरबाट राज्यसत्ता निर्माण अवस्था सिर्जना भएको छ । यसको परिणाम भविष्यमा हामीले एक एक पछि व्यहोर्दै जानुपर्नेछ । पछि के हुन्छ, भन्न सकिन्न । अझ यो भन्दा पनि ठुलो हुन सक्छ । हिजो मात्रै महिले एउटा मोबाईलमा हेरे, भारतको एकजना व्यक्तिले यो सबै मोदीले गराएको भनेर भन्यो । केपी ओलीलाई जवाफ दिनको निम्ति । यिनले चुच्चे नक्शा निकालेर, भारतको जमिन नेपालको भनेर के के गरेका थिए, मोदीले एकैपटक जवाफ दिए भनेर आएको छ । अब यहाँ यसमा जति प्रयोग हुने व्यक्तिहरु छन्, तिनीहरु नेपालप्रति थोरैमात्रै पनि सम्मान प्रकट गर्ने व्यक्तिहरु छैनन् । ऐतिहासिक धरोहरहरु एकपछि अर्को ध्वस्त गरेका छन् । यो सबैलाई हेर्दाखेरी हामीले जेनजी भनेका छौँ, जेनजीले संसारमा यस्तो कहीँ पनि गरेको छैन । यो अराजकता भन्दा अर्को हुँदै होईन र कसै न कसैले यसलाई बदला लिनको निम्ति उठाएको छ, अगाडी बढाएको छ । यतिधेरै संरचना ध्वस्त भएको छ । ७४ जना केपी ओली सरकारका पालामा मारिए, तीनै जेनजी भन्नेहरु ।’
नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जेन—जीले पवित्र चाहना राखेर आन्दोलन गरेको भएपनि अपवित्र बनाइएको बताएका छन् । उनले अदृश्य शक्तिले पर्दा पछाडीबाट जेन—जी आन्दोलनलाई अपवित्र बनाइदिएको आरोप लगाएका छन् । यो दुःखद् भएको उनको भनाई छ । ऐतिहासिक, नेपाली मौलिकता, नेपालको पहिचान, साँस्कृतिक धरोहर बोकेका सार्वजानिक सम्पतीहरुको नष्ट भएको उनले बताए ।
नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले भ्रष्टाचार र बेतिथिले उकुसमुकुस भएको अवस्थामा तत्कालिन सरकारले गरेका केही क्रियाकलापको कारण जेन—जी आन्दोलनले उग्र रुप लिएको बताएका छन् । सामाजिक सञ्जाल बन्द गर्ने काम, एमालेको विधान अधिवेशनमा मन्त्रीको गाडीले बालिकालाई दिएको ठक्कर दिएको घटना, जेन—जी पुस्ताले गर्ने भएको आन्दोलनका बारेमा तत्कालिन सरकारका प्रमुखले दिएको टिकाटिप्पणी लगायतले पनि आन्दोलनलाई बल पुगेको उनको भनाई छ ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार