Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता


२७ चैत ,बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्सलाई बैतडीका स्थानीय तहबाट तीन वर्षमै फिर्ता गरिएका छन् ।

जिल्लाको पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेका हुन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स ग्रामीण सडकमा सञ्चालनमा समस्या आएको भन्दै फिर्ता पठाएका स्थानीय तहले जनाएको छन् ।

पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष वीना भट्टले प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स बेलाबेला बिग्रने र मर्मत खर्च धेरैनै आउन थालेपछि फिर्ता पठाएको बताईन्‌ । कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाएको हो । उनले भनिन्‌, “गाउँपालिकाले आफ्नै बजेटबाट एम्बुलेन्स किन्ने तयारी थालेका छौँ, ग्रामीण सडकमा सहजरुपमा सञ्चालन हुने एम्बुलेन्स किन्छौँ ।”

मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स पहाडी जिल्लाका ग्रामीण सडकमा सञ्चालन गर्न असहज हुने गरेको गुनासो बढेको छ । एक पटक बिरामीलाई बोकेको अवस्थामा मर्मत गर्नैपर्ने स्थितिका एम्बुलेन्स रहेको एम्बुलेन्स चालकले बताएका छन् ।

पहाडी क्षेत्रमा झुल खाने (थोरौ स्पिड दगुराउँदा हल्लिने) ब्रेक नलाग्ने, स्पिड नहाकिनेलगायतका समस्या आउने गरेको थियो । सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक १७ गते गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

पञ्चेश्वरको कुलाउ स्वास्थ्यचौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर धनगढीमा थन्किएको थियो । डिलासैनी गाउँपालिकाकाले पनि प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको प्रवक्ता यज्ञ भट्टले बताए । बेलाबेलामा बिग्रने र मर्मत खर्च धेरै आउने समस्याले गर्दा एम्बुलेन्स एक वर्षदेखि ठप्प थियो ।

उनले भने, “पालिकासँग जोड्ने सबै सडक कच्ची भएकाले उक्त सडकमा प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनमा कठिनाइ थियो, अनि बिग्रने समस्या पनि बढी भएकोले फिर्ता गर्ने निर्णयमा पुग्यौँ । हामीले नयाँ एम्बुलेन्सका लागि रेडक्रसको केन्द्रीय कार्यालयसँग माग गरेका छौँ ।”

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?