काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको आरोपको खण्डन गर्दै न्यायालयको निर्णयमा सरकारको कुनै भुमिका नभएको स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभामो बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमा लाखौं जनताले गरेको वचत हिनामिना गर्ने मुद्दामा सयौं व्यक्तिमाथि कारबाही भइरहेको भन्दै न्याय प्रणालीमा सरकारको कुनै भुमिका नरहेको स्पष्ट पारेका छन् । उनले एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने अरुमाथि के भइरहेको हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले लामिछानेलाई लक्षित गर्दै भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्ने समेत टिप्पणी गरेका छन् । उनले संसद बहिष्कार गर्ने तथा देशलाई भावनात्मक तथा हानिकारक उत्तेजनामा लैजानु अनुचित नभएको उल्लेख गर्दै अदालतको निर्णमा सरकारको हात नरहेको दोहोर्याएका छन्।
उनले भने,‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यत्तिमाथि मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्व सांसद, बहालवाला मेयर लगायत धेरै व्यक्तिहरु अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । तर पूर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने थुनामा रहेका अरु व्यक्तिहरुमाथि के भएको हो त ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो त ? या सरकारले भनेजस्तै चल्दै गएको हो त सबै ? अनि सत्तापक्षका मान्छेहरु समेत थुनिएका सरकारले भनेर नै हो त ? भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सबै माग्नेछ । त्यस्ताका पछि लाग्ने भिड अचम्मको मात्र होइन दया लाग्दो छ । यस्ता कुरालाई लिएर संसदलाई बहिस्कार गरेर विष्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनामा देशलाई लैजानु कदापि उचित हुदैन । न्यायालयले गर्ने निर्णय सरकार अनुकुल वा प्रतिकुल जे भएपनि त्यसमा सरकारको कुनै हात हँुदैन भन्नेकुरा बुझ्न जरुरी छ ।’
प्रधानमन्त्री ओलीले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्नको लागि संसदका दुई ठूला दलहरुको समिकरणमा सरकार गठन गरिएको बताउदै हाल विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको उनको आरोप छ ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार