काठमाडौँ। नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन नसक्ने टिप्पणी गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले मुुलुकको लेखा प्रणाली बलियनो नभएसम्म लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन नसकिने बताएका हुन् । उनले सानो अर्थतन्त्र भएको नेपालजस्तो मुलुकमा यति धेरै बेरुजु आउनु सामान्य कुरा नभएको बताए । मुलकमा सुशासनको अभाव, आर्थिक पारदर्शीता नहुनु तथा कर्मचारीको कमजोर कार्यक्षमताका कारण बेरुजु बढ्दै गइरहेको बताए ।
उनले भने, ‘हाम्रो जस्तो सानो आकारको बजेट भएको मुलुकमा यति ठुलो बेरुजुको अंकलाई सामान्य ढंगले लिनु हुँदैन । हाम्रो देशमा आर्थिक परिचालनको पारदर्शिता देखिँदैन । त्यसलाई कसरी पारदर्शी बनाउने, जवाफदेही बनाउने ? यो महत्वपूर्ण कुरा छ । यस सन्दर्भमा मलाई के लाग्छ भने बेरुजु यति धेरै देखिनु हाम्रो आर्थिक प्रणाली पारदर्शी नहुनु, जवाफदेही नहुनु हो । यसले के देखाउँछ त भन्दा समग्रतामा हाम्रो सुशासन चाँही कमजोर छ । हामीले जसजसलाई जिम्मेवारी तोकेका छौं । ती व्यक्तिहरुको कार्यक्षमता कमजोर छ । बाहिर बोल्न मात्रै जान्ने अथवा कर्मचारी खटाउन मात्रै जान्ने कुराले आफ्नो मातहतको लेखा प्रणालीलाई ठिक ढंगले राख्छ कि राख्दैन भन्ने हो । आर्थिक पारदर्शीता र सुशासन कमजोर देखिन्छ । हामी अहिले लोकतान्त्रिक शासन व्यवस्थामा छौं । यदि हाम्रो आर्थिक प्रणाली नै बलियो छैन भने हाम्रो लोकतान्त्रिक शासन व्यवस्था कसरी बलियो हुन्छ ? त्यसकारण लोकतान्त्रिक राज्य प्रणालीलाई बलियो बनाउने हो भने हाम्रो लेखा प्रणालीलाई बलियो बनाउन आवश्यक छ ।’
सांसद भट्टराईले वर्तमान लेखा प्रणालीमा देखिएको कमजोरीले लोकतान्त्रिक शासन प्रणाली नै संकटमा पर्न सक्नेतर्फ सबै सचेत हुन जरुरी रहेको बताए ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार