Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हेटौँडाका जनप्रतिनिधिहरूको प्रशासन परिसरमै धर्ना


हेटौंडा। उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् ।

गत असार ४ गते दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यालयमै आक्रमण भएको थियो । घटनापछि आक्रमणकारीहरूको पहिचान भइसकेको जनप्रतिनिधिहरूको दाबी भएपनि एक महिना बितिसक्दा समेत दोषीहरू पक्राउ नपरेको भन्दै उनीहरू प्रशासनविरुद्ध सडकमा उत्रिएका हुन् । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेले आफूलाई आक्रमण गर्ने व्यक्तिहरू को हुन् भन्ने सिसिटिभिमार्फत स्पष्ट भइसके पनि कारबाही प्रक्रिया अघि नबढेको गुनासो गरे । उनले वडा कार्यालयमा बस्दा असुरक्षित महशुस भएको भन्दै सेवा प्रवाहका लागि सिधै जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा आउनुपरेको गुनासो व्यक्त गरे ।

यस विषयमा प्रशासनसँग पटक पटक छलफल भएपनि राजनीतिक प्रभावमा परेर ढिलासुस्ती भएको उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रमुख जिल्ला अधिकारी (सिडिओ) स्किम श्रेष्ठ र प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कामाथि आरोप लगाए । मकवानपुर जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले भने प्रहरीको खोजी कार्य तिब्र गतिमा भइरहेको बताए । उनका अनुसार घटना भएको केही मिनेटमै प्रहरी घटनास्थलमा पुगेको भए पनि आक्रमणकारीहरू त्यहाँबाट भागिसकेका थिए । त्यसयता प्रहरी निरन्तर अनुसन्धानमा खटिएको कँडेलको दाबी छ । उनले उक्त घटनालाई राजनीतिक रूपमा नहेरी कानूनी प्रक्रियाअनुसार मात्र अघि बढाइने स्पष्ट पारे ।

यस आन्दोलनलाई नेपाली काँग्रेसले पनि समर्थन जनाएको छ । काँग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटनीले प्रमुख जिल्ला अधिकारीको कमजोरीकै कारण प्रहरीको क्षमता हुँदाहुँदै पनि आक्रमणकारीहरू अहिलेसम्म पक्राउ नपरेको आरोप लगाएका छन् । प्रमुख जिल्ला अधिकारीको गैरजिम्मेवार व्यवहारले मकवानपुरमा यस्ता घटनाहरू बढ्दै गएको उनको आरोप छ ।

वडाध्यक्षमाथि भएको आक्रमणको एक महिना बितिसक्दा पनि दोषी पत्ता नलाग्नु र कारबाही प्रक्रिया अघि नबढ्नुले जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । सिडिओ स्किम श्रेष्ठ र एसपी विश्वराज खड्काको नेतृत्वप्रति चौतर्फी आलोचना भइरहेको छ । विरोधमा रहेका वडाध्यक्षहरूले दुई दिनसम्म जिल्ला प्रशासन कार्यालयको परिसरमै जनसेवा गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए थप आन्दोलनको घोषणा गर्ने जनाएका छन् ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?