
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकताको निम्ति सही नीति, सिद्धान्त र कार्यदिशा आवश्यक पर्ने बताए । नीति बिनाको एकताको औचित्य नरहने जिकिर गरे । साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता भएको बताए । नेपाल आज समाजवादी क्रान्तिको रुपान्तरणको युगमा रहेको र होशियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।
उनले भने, ‘एकताको निम्ति सही नीति, सही सिद्धान्त, सही कार्यदिशा आवश्यक पर्दछ । नीति बिनाको एकता सम्भव हुँदैन । के नीतिमा हामी एकतावद्ध हुन्छौँ, कस्तो कार्यदिशा र सिद्धान्तको आधारमा एकतावद्ध हुन्छाँै भन्नेकुरामा चिन्तनमनन गरेर साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता हो । यो एकता प्रक्रिया यो पार्टीलाई अझ बलियो बनाउनका लागि भएको हो । आज हाम्रो देश समाजवादी क्रान्तिको रुपान्तरणको युगमा छ । यो समाजवादी क्रान्ति र रुपान्तरणको युगबाट अघि बढिरहँदा हामीले धेरै होशियारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता छ । यो एकतालाई हामीले कम्युनिष्ट आन्दोलनको एकताको रुपमा, देशव्यापी एकताको रुपमा, नीतिगत सिद्धान्त र लक्ष्यको एकताका रुपमा बदल्ने संकल्प गरौँ ।’
सम्मानित नेता खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार