
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुन:एकीकरणसम्बन्धी छलफलमा उनले मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरुरी रहेको बताए ।
“दोषारोपण गरेर हैन, यथार्थतालाई चिरफार गरेर अगाडि बढ्नुपर्छ, रोजगारदाताले उपयुक्त जनशक्ति पाइरहेको छैन, यहाँका काममा बमहिरबाट मानिस आउनुपर्ने अवस्था छ । भनसुनबिनौ योग्यता, क्षमताअनुसारको काम पाउने अवस्था सृजना गर्न श्रम संसारको सुरुआत गरेका छौँ, त्यसलाई नागरिक एपमा जोड्छौँ”, मन्त्री भण्डारीले भने,“सरोकार भएकाहरूलाई एकीकृत गरेर सुधारका काम गर्छौं, विदेशबाट फर्किएर आएका र रोजगारीको खोजीमा रहेकालाई रोजगारमा जोड्ने गरी काम गर्नुपर्छ भनेर लागिरहेका छौँ ।”
उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको काम वैदेशिक रोजगारको मात्रै काम हो भन्ने सोचबाट मुक्त भएर मुलुकमा भएको रोजगारीको सम्भावना र अवसरलाई पनि ध्यान दिएर काम गर्न लागिपरेको बताए ।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आईतवार