Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने


काठमाडौँ। लाङटाङ क्याजिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आगामी जेठ २४ गते हुने भएको छ ।

रसुवा नुवाकोट पर्यटन समाजले स्थानीय पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित लाङटाङ ट्रेल रन गर्न लागेको हो । रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर सन् २०१६ मा रसुवा नुवाकोट पर्यटन समाज स्थापना गरिएको हो । जसले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत काम गर्दै आएको छ । त्रिपुरेश्वरमा बिहीवार पत्रकार सम्मेलन गर्दै समाजले ट्रेल रनको बारेमा जानकारी दियो । तीन हजार आठ सय ४० मिटर उचाइमा रहेको क्याजिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रन हुने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानले जानकारी दिए । उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको हुनेछ । स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

लाङटाङ ट्रेल रनमा सहभागी हुन जेठ २० गतेसम्म अनलाइनमा फाराम भर्नुपर्नेछ । वागमती प्रदेश पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा रसुवा नुवाकोट पर्यटन समाजले लाङटाङ ट्रेल रन आयोजना गर्न लागेको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले पनि सहकार्य गर्नेछ ।

लाङटाङ ट्रेल रन आयोजनाका लागि करिव ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । वागमती प्रदेशको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ । नेपाली खेलाडीले प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ र विदेशीले प्रतिव्यक्ति अमेरिकी ६० डलरको सहभागिता शुल्क तिर्नुपर्नेछ । लाङटाङ ट्रेल रनमा महिला र पुरुषको विजेताले छुट्टाछुटै नगद पुरस्कार पाउनेछन् । पहिलोदेखि पाँचौं स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

लाङटाङ ट्रेल रनका लागि प्राविधिक समूह गठन गरिएको आयोजकले जनाएको छ । लाङटाङ ट्रेल रनसँगै त्यहाँ पैदलयात्रा पनि हुनेछ । जेठ २० गते स्याफ्रबेसी, दोभानदेखि बम्बुसम्म पैदलयात्रा, जेठ २१ गते बम्बुबाट लाङटाङसम्म पैदलयात्रा, जेठ २२ गते लाङटाङदेखि क्याजिन गुम्बासम्म पैदलयात्रा र जेठ २३ गते क्याजिन गुम्बामा तयारी तथा लेक पचाउने कार्यक्रम रहेको छ । अन्तिम दिन जेठ २४ गते क्याजिन गुम्बाबाट स्याफ्रुबेसीसम्म दौड प्रतियोगिता हुने भएको छ । २०७२ सालको भूकम्प र कोभिड–१९ का कारण लाङटाङको पर्यटन निकै प्रभावित भएको थियो । त्यसैले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?