
काठमाडौँ। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले देशलाई समृद्धिको बाटोमा अघि बढाउने युवा शक्तिले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएकी छिन् ।
बिहीवार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उनले यतिबेला असल र सक्षम युवा देशका लागि आवश्यक भएको बताइन् । उनले देश निर्माणका लागि राजनीतिमै लाग्नुपर्छ भन्ने सोच त्यागेर युवा पुस्ताले जुन पेशा वा व्यवासायमा छ त्यसैमा राम्रो काम गरेर योगदान दिनुपर्ने बताउंदै सबै युवामा केही न केही सोच र क्षमता भएको भन्दै इमान्दार र जिम्मेवार भएर क्षमता प्रदर्शन गर्नपर्नेमा जोड दिएकी छिन् । उनले कुनैपनि काम गर्दा आइपर्ने समस्यालाई हार नखाइ निरन्तर अगाडि बढ्दा सफल भइने बताउदै नेकपा एमाले असल पार्टी भएकाले युवा पुस्तालाई सामाजिक सञ्जालमार्फत असल कामको प्रचारप्रसार गर्न सिकाइरहेको बताएकी छिन् । युवा शक्तिमा देशका लागि सकारात्मक काम गर्ने हुटहुटी हुनुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘म एउटा कुरामा सदैव विश्वास गर्ने गर्छु, त्यो हो सफलता उनीहरुले नै पाउँछन् जसले कहिल्यै पनि हार मान्दैन । सफलताले उसैलाई पच्छ्याउँछ जसले कहिल्यै हार मान्दैन । अहिलेको समयमा हामीलाई चारैतर्फबाट चौतर्फी आक्रमण भएको हामी सबैले महशुस गर्न सक्छौँ । तर जतिसुकै आक्रमया भए तापनि हामी विचलित हुने छैनौँ । राष्ट्र निर्माणका लागि हामी सबै एकजुट भएर निरन्तर अगाडि बढ्छौँ । हामी कहीँ पनि थाक्ने छैनौँ । हामी कहिल्यै पनि रोक्ने छैनौँ । सोसल मिडियामा भाइरल बनेर उग्र बन्न एमालेले सिकाउँदैन । एमालेले राम्रा कामको प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ । हामी सबैमा योजना छ । भिजन छ, स्टाटेजी छ । सबैभन्दा ठुलो हामीमा शक्ति छ । किनभेन हामी युवा हौँ । र हामी उमेरले युवा भएर मात्रै पुग्दैन । अबको आवश्यकता हो सक्षम युवाको, असल युवाको, इमान्दार युवाको, जिम्मेदार युवाको र राष्ट्रवादी युवाको । देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक छ । यो समाजको आजको आवश्यकता हो । नयाँ ऊर्जा र नयाँ भिजन थप्नका लागि र यो सँगसँगै पार्टीमा नयाँ आयाम थप्नका लागि असल, सक्षम र राष्ट्रवादी युवाको आवश्यक छ । म सम्पूर्ण युवालाई आग्रह गर्न चाहन्छु आउनुहोस् हातेमालो गरौँ । देश निर्माणका लागि सँगसँगै जुटौँ । केही गर्नसक्छौँ भन्ने उदाहरण बनौँ । सबै कुरा त्यागेर देशलाई अघि बढाउन लागौँ । यसका लागि राजनीतिनै गर्नुपर्छ भन्ने छैन । तपाई हामी जुन ठाउँ र पेशामा छौँ, जुन ठाउँमा छौँ त्यहीँबाट असल भएर देशलाई योगदान पु¥याउने समय हो ।’
उपमेयर डङ्गोलले आफू युथ ग्लोवल लिडरको रुपमा चयन भएर विश्वमा नेपालको नाम उच्च राख्न सफल भएको बताउंदै उनले आफ्नो सफलता आफ्नो लागि मात्रै नभएर राष्ट्र र सम्पूर्ण युवा शक्तिका लागि भएको बताएकी छिन् ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार