
अमेरिका। अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले नेपालका अग्रज पत्रकार, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ ।
रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यमा योगदान दिनुभएका दाहाल अहिले अमेरिका भ्रमणमा रहेका बेला उहाँसँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम अमेरिकाको भर्जिनिया मनासस शहरमा भएको थियो ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार एवं अग्रज पत्रकार, कान्तिपुर दैनिकका संस्थापक योगेश उपाध्यायले पुरुषोत्तम दाहालको पत्रकारिता इतिहासदेखि वर्तमानसम्मका बारेमा चर्चा गर्दै पत्रकारिताको क्षेत्रमा दिनुभएको योगदान कहिल्यै बिर्सिन नसकिने बताएका छन् । पत्रकार एवं पुरुषोत्तम दाहालका पत्रकारिताका शिष्य गौतम दाहालले उनको पत्रकारिता जीवनको बारेमा चिनारीसहित आफ्ना मन्तव्य राखेका थिए ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पुरुषोत्तम दाहालका बारेमा बोल्दै आफ्नो रेडियो पत्रकारिता र छापा पत्रकारिताको पनि अग्रज अभिभावक भएको बताएका छन् । सोही अवसरमा दाहालद्वारा लिखित कृति “शान्ता” पनि वितरण गरिएको थियो भने प्रा. डा. गोपी उप्रेतीको कृति प्रकृत्या सह जीवनम पनि सार्वजनिक गरिएको थियो ।
प्रकाशित मिति: २४ चैत्र २०८१, आईतवार