
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताएका छन् ।
शनिवार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिक इतिहासमा नेपालको स्वाभिमान र गौरवपूर्ण इतिहास भएको जिकिर गरेका छन् । उनले विश्व सभ्यता र ज्ञानको खोजीमा विगतमा नेपाल अग्रणि भएपनि इतिहासका साशकले लादेको कुसंस्कारका कारण सयौँ वर्ष जहाँको त्यहीँ रोकिनुपरेको बताए । विगतमा औपनिवेशिक र सामन्ती प्रथाको राजनीतिक व्यवस्थाका कारण अन्धकारमा धकेलिनुपरेको उनको भनाइ छ । उनले इतिहासमा ज्ञान र शिक्षाको शुरुवात महिलाबाटै शुरु भएको तर सामन्ती प्रथाको राज्यसत्ताका कारण महिलालाई पठनपाठनमा रोक लगाएर आधा जनसंख्यालाई चल्नै नसक्ने बनाएको जिकिर गरेका छन् ।
उनले भने, ‘हामी गौरवपूर्ण इतिहासबाट आएका छौँ, स्वाभिमानपूर्ण इतिहासबाट आएका छौँ र त्यो इतिहास विश्वको सभ्यताको विकासदेखि लिएिर विश्वमा शिक्षाको विकासदेखि लिएर विश्वमा ज्ञान र शिक्षाको विकासदेखि लिएर हरेक कुरामा हाम्रा पूर्वजहरु अरुभन्दा अगाडि थिए । यो यथार्थ पृष्ठभूमिमा हामी केही समय पछाडि प¥यौ, एउटा औपनिवेश युगका कारणले र अर्को सामन्ती प्रथाका कारणले । हाम्रोमा कस्तो कस्तो उल्टो बुद्धिका साशकहरु आए । महिलाले पढ्न हुँदैन भन्ने खालका, जुन महिलाले वेदको रचना गरे त्यही महिलाले वेद पढ्न हुँदैन भन्ने आयो । जब शुरुवातीका ग्रन्थ नै पढ्न हुँदैन भनेपछि त्यसपछिका पढ्न हुने कुरै भएन । कतिपय ठाउँमा त बुर्खै लगाएर हिड्नु पर्छ अर्काले देख्नु हुँदैन, बोल्नु र हाँस्नु हुँदैन । यसप्रकारको सीमितताले आधा जनसंख्यालाई प्यारालाइज गरिदियो । अर्कोतिर अछुत बनाएर पढ्न लेख्न नहुने बनाइयो अनि समाज कसरी अगाडि बढ्छ ? यो बीचमा त्यस्तो प्रवृत्ति आएर विकासलाई रोक्ने काम भयो र हामी शदाब्दीऔँ जहाँको त्यहीँ रहन पुग्यौँ ।’
प्रधानमन्त्री ओलीले आर्थिक विकासका लागि कृषिलाई आधुनिकिकरण र मेसिनयुक्त बनाउनुपर्ने बताएका छन् । गाउँमा रहेका ठुलो संख्याका नागरिकलाई रोजगारी सिर्जना तथा आम्दानी वृद्धिका लागि तालिम र साना लगानीका उद्योगमा सञ्चालनमा प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले वित्तीय संस्थाहरुले किसान तथा उद्यमीहरुलाई गर्ने सहयोगका बारेमा सरकारले नीति निर्माण गरेर सहज बनाउने कार्यमा सरकार लागी परेको बताएका छन् । उनले देश समृद्ध हुनका लागि नागरिकको खर्चभन्दा आम्दानी बढी हुनुपर्ने र त्यो अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको बताएका छन् ।
उनले भने, ‘समाज एक ठाउँ चलेर हुँदैन । सिङ्गै समाज गतिशिल हुनुपर्छ आआफ्ना ठाउँबाट । सबैभन्दा ठूलो क्षेत्र अहिले पनि एग्रिकल्चर छ । एग्रिकल्चरलाई मोडरनलाइज नगरीकन व्यावसायिक नबनाइकन, एग्रिकल्चरलाई हामीले मेसिनिकरण नगरेसम्म, साना लगानीका उद्योगहरुलाइै नचलाइकन त्यसबाट हामी अगाडि जान सक्दैनौँ । सबै भन्दा ठुलो जनसंख्या त्यहाँ छ र त्यसलाई मोडरनाइजेन गर्नुपर्छ, एग्रिकल्चरलाई मोडरनाइजेन भनेको ग्रामिण क्षेत्रमा रहेको पछाडि परेको जनसंंख्यालाई मोडरनाइज गर्ने हो । उनीहरुलाई व्यावसायिक तालिम दिने हो । उनीहरुलाई त्यहीँ रोजगारी सिर्जना गर्ने हो, रोजगारी मार्फत आम्दानी गराउने हो । र मुख्य कुरा देश धनी हुनका लागि नागरिकको अवस्था उस्ले काम पाएको हुनुपर्छ,उस्को आम्दानी भएको हुनुपर्छ । र उसको आम्दानी खर्च गरेर बचतको रुपमा जम्मा हुने स्थितिमा हुनुपर्छ तब नागरिक धनी हुन्छ देश धनी हुन्छ । त्यसकारण हामीले व्यवसायीहरुलाई पनि सिकाउन परेको छ, र साधारण मान्छेहरुलाइ अब नयाँ इकोनोमी ड्राइभमा जाँदाखेरि बैंकहरुले नागरिकहरुलाई नयाँ गतिमा नयाँ तरिकामा कसरी सहयोग गर्न सक्छ ? नागरिक र किसानहरुको सम्बन्ध कस्तो हुन्छ ? नागरिक र व्यवसायी र व्यापारीहरुसँग कस्तो सम्बन्ध हुनसक्छ, उद्यमीहरुको सम्बन्ध कस्तो हुनसक्छ ? त्यसका अप्ठ्यारो पर्ने गरी होइन सजिलो पर्ने गरी कानून निर्माण गर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ, मानसिकता परिवर्तन गर्नुपर्छ आजको भन्दा फरक ढंंगले त्यसका लागि सरकार लागिपरेको छ ।’
प्रधानमन्त्री ओलीले सम्भावनाप्रति आशावादी भएर लाग्नु पर्ने बताउंदै नेपाल प्राकृतिक, खनिज र विभिन्न स्रोतका हिसाबले सम्भावना भएको मुलुक भएकाले समृद्धिका लागि आशावादी बन्नुपर्ने उनको भनाइ छ । उनले सरकारले व्यवसायीहरुको अपेक्षाअनुसार नै सकारात्मक नीति निर्माण गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार