
काठमाडौँ। प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताएका छन् ।
थाइल्याण्ड भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ती त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताएका छन् । पराराष्ट्र सचिव राईले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा दुई पक्षिय आर्थिक दायरा बिस्तार गर्दै निजी क्षेत्रको सहकार्यको अभिवृद्धि गर्नुलगायतका उद्देश्य रहेको बताए । उनले नेपालको तर्फबाट प्रधानमन्त्री स्तरको पहिलो थाइल्याण्ड भ्रमण भएको बताएका छन् । उनले थाइल्याण्डले नेपालको कृषि, पर्यटन तथा सूचना प्रविधिमा लगानी एवं प्रविधि हस्तान्तरण गर्ने सहमति भएको बताउंदै उनले नेपाल र थाइल्याण्डबीच दुई वटा र निजी क्षेत्रका व्यवसायीबीच आर्थिक लगानीका विषयमा सहकार्य गर्न ६ वटा सम्झौता भएको बताएका छन् ।
उनले भने, ‘नेपालको तर्फबाट प्रधानमन्त्रीस्तरमा थाइल्याण्डको पहिलो औपचारिक भ्रमण भएको यहाँहरुलाई पहिला नै अवगत भइसकेको छ । मेरो भ्रमणको उद्देश्य नेपाल र थाइल्याण्डबीच सदियौँदेखि कायम रही आएको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबीचको सामाजिक सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने, दुई पक्षीय आर्थिक दायरालाई विस्तार गर्ने र राष्ट्रिय समृद्धिको राष्ट्रिय आकांक्षाको हासिल गर्न थाइ सरकार र निजी क्षेत्रको सहकार्यलाई अभिवृद्धि गर्नु रहेको थियो । यसका साथै नेपाली प्रतिनिधिको नेतृत्व गर्दै थाइल्याण्डको छैटौँ विमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने र घनिभुत क्षेत्रिय सहकार्यमार्फत सदस्य मुलुकका पारस्परित हितका विषयमा छलफल गर्ने मेरो भ्रमणको अर्को उद्देश्य रहेको थियो । थाइल्याण्डमा रहँदा मैले थाइ प्रधानमन्त्रीसँग प्रतिनिधि मण्डलसँग दुई पक्षिय वार्ता गरेँ । उक्त अवसरमा नेपाल र थाइल्याण्डबीच व्यापार तथा लगानी कृषि पर्यटन शिक्षा मानव संसाधनलगायत दुई पक्षीय सम्बन्धका आपसी हित र बहुपक्षीय सहयोग र सहकार्यका बारेमा विस्तृत र फलदायी कुराकानी भएको छ । थाइ लगानी तथा प्रविधि हस्तान्तरण गर्न तयार रहेको थाइ प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । थाइल्याण्डले दक्षता हासिल गरेको पर्यटन, कृषि तथा सूचना प्रविधिलगायतका क्षेत्रहरुमा थाइ लगानी तथा प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न थाइल्याण्ड सरकार तयार रहेको विचार प्रधानमन्त्री शिनाबात्रले व्यक्त गर्नुभयो । शिक्षा तथा मानव संसाधन विकासका लागि दुई पक्षिय सहयोग अभिवृद्धि गर्दै लैजाने विषयमा समेत महत्वपुर्ण र सार्थ कुराकानी भएका छन् । दुई देशका सम्बन्ध सुदृढीकरणका साथ साथै जलवायु परिवर्तन, दीगो विकास विश्व शान्तिलगायतका साझा चासोबा विषयहरुमा क्षेत्रिय तथा बहुपक्षिय मञ्चहरुमा आपसी सहयोग र सहकार्य तप बलियो र प्रभावकारी बनाउने बारेमा दुई पक्षबीच सहमति भएको छ । भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्याण्ड सरकारबीच आपसी सहयोग आदान प्रदान गर्न पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धमा दुई छुट्टा छुट्टै सम्झौताहरु हस्ताक्षर भएका छन् । त्यस्तै दुई देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुबीच आपसी सहकार्यका लागि ६ वटा भिन्दा भिन्दै सम्झौतामा हस्ताक्षर भएको छ ।’
प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले थाइल्याण्डको प्रख्यात सूचना प्रविधि संस्था एशियन इन्स्टिच्युट टेक्नोलोजी (एआइटी) मा सम्बोधन गरेको बताएका छन् । उक्त संस्थाले हालसम्म १८ सय नेपाली विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको बताउँदै उनले नेपाली विद्यार्थीलाई नेपाल फर्किएर आफूले जानेको प्रविधिमार्फत नेपालको विकासमा योगदान पुर्याउन प्रधानमन्त्री ओलीले प्रेरित गरेको बताए । प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यासायीहरुलाई नेपालमा वैदेशिक लगानी सरल, सुरक्षित र प्रतिफलमुखी बनाउन उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
उनले भने, ‘थाइल्याण्ड भ्रमणका अवसरमा नेपाली र थाइ प्रख्यात व्यवसायीहरुसँग गरेको अन्तक्रियामा मैले नेपालमा वैदेशिक लगानीका लागि कानूनी, सामाजिक र आर्थिक वातावरण रहेको र वैदेशिक लगानीलाई सरल, सहज र सुरक्षित प्रतिफलमुखी बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको कुरा उल्लेख गरेको छु । नेपालमा लगानीको प्रचुर सम्भावनाको चर्चा गर्दै ठूलो संख्यामा त्यहाँ सहभागी सफल एवं प्रतिष्ठित थाइ व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेको छु । थाइ लगानीकर्ताहरुले नेपालमा आफ्नो लगानी विस्तार गर्न इच्छा जाहेर गरेका छन् । थाइल्याण्ड भ्रमणकै क्रममा एशियन इन्स्टिच्युट टेक्नोलोजी एआइटीमा पनि सम्बोधन गरेको छु । त्यहाँको प्रमुख सञ्चालक समितिका अधिकारी, प्राध्यापक कर्मचारी एवं विद्यार्थीसँग भेट र अन्तरक्रिया गरेको छु । एआइटीले हालसम्म करिब १८सय नेपालीलाई उच्च शिक्षा प्रदान गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीलाई नेपाल फर्की देश विकासमा योगदान पु¥याउन प्रेरित गरेको छु ।’
सचवि राईले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विमस्टेक राष्ट्रका समकक्षीहरुसँग छुट्टाछुट्टै भेट गरी दुई पक्षीय आपसी सम्बन्ध र हितका विषयमा कुराकानी र छलफल भएको जानकारी दिएका छन् । त्यस्तै नेपालमा गर्न लागेको सगरमाथा संवादमा भाग लिन बिमस्टेक राष्ट्रका प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले निमन्त्रणापत्र प्रदान गरेको बताएका छन् ।
प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार