
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन्।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उनले केही तत्वहरु गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन् । उनले सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिएका छन् । नागरिकका सबै चाहानाहरु पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ । उनले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उत्साहटमा गणतन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको बताए ।
उनले भने, ‘गणतन्त्र आएपछि केही नेपाहरुको उठिवास भएको छ नेपालमा । हामीले दुईवटा दुश्मनहरुका विरुद्ध लडेका हौं । हामी दुई वटा बन्धन र दुई वटा समस्याका विरुद्धमा लडेका हौं । हामीले सामन्तवादको विरुद्धमा लडेका हौं । हामी दलाल पँुजीवादको विरुद्धमा लडेका हौं । सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम र अधिनायकवादीलाई नेपाली जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेका हौं । आज जसले हारेर सत्ता गुमाए, जसले स्वर्गको आनन्दलाई भंग भएको महशुस गरेका छन् ति तत्वहरुले विदेशी तत्वहरुको उत्साहटमा देशमा हराइएका र जनताको बलद्धारा धुलो परेका सामन्ती तत्वका बचेकुचेका तत्वहरुद्धारा गणतन्त्रको विरुद्धमा फेरि एउटा षड्यन्त्र चलिरहेको छ । हामीहरुलाई प्रभूहरुको खाँचो छैन । हामीलाई महासामन्तहरुको खाँचो छैन । ’
उनले गणतन्त्रको पक्षमा लडेका नागरिकहरु अधिकार सम्पन्न भइनसकेका कारण आफूहरु अगाडि बढ्न खोजिरहेको बताए ।
प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार