Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

यती एयरलाइन्स र दुर्गा प्रसाईँबीच क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता


झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ ।

एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उप प्रबन्धक विमल विष्टले जानकारी दिए ।

यहाँको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल बि.स. २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेट सिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवले बताए ।

उनले भने, “निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेट सिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ । ”

पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए । “देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एक पटक लिन सक्नुहुन्छ”, उनले भने, “तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।” बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए।

जनसम्पर्क अधिकृत गिरीले विगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा छ हजार चार सय ८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएको जानकारी दिए । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका क्यान्सर बिरामीले उपचार पाउनबाट अझै वञ्चित हुनुपरेको उनको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको सङ्ख्या बर्सेनि बढिरहेको उनले बताए । विगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका आठ सय १४ जना र फोक्सो क्यान्सरका आठ सय पाँच जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. यादवले जानकारी दिए । पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत पुर्‍याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुसी तुल्याएको मोरङको रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले बताए । उनले चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार सोही अस्पतालमा गराइरहेका छन् । बिरामीलाई अस्पताल लैजान र घर ल्याउन रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको उनले बताए । “हुनेखानेका लागि अस्पताल जान सवारी साधनको कठिनाइ नहोला, तर गरिब परिवारका लागि खर्चकै अभावले बेलैमा अस्पताल पुग्न कठिन हुनसक्छ”, उनी भन्छन्, “विपन्न र असहाय बिरामीका लागि अस्पतालले यातायात र औषधोपचारमा सहुलियत गरिदिनै पर्छ ।”

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत रु. एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै रु. दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?