काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताएका छन्। उनले यस बीचमा धेरै राम्रा उपलब्धिहरु भएको र मौलिक अधिकारहरु स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मुलतः मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको बताए । उनले समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको र संविधानको परिकल्पनाअनुसार समतामुलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताएको छन्
उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताउदै संघ सरकारबाट बन्नुपर्ने केही कानूनहरु नबन्दा प्रदेशले पूर्ण रुपमा अधिकार प्रयोग गर्न नपाएको बताएका छन् । उनले काठमाडौंमा पानी पर्दा जनकपुरमा छाता ओढ्नुपर्ने राजनीतिक परिवेश बनाउन नहुने बताए ।
प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार