काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी साधारणतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका भू-भाग सामान्यतया सफा रहेका छन्।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार