Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर


भरतपुर। चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन् ।

उनले भने, ‘नेपालमा वर्षेनी करिब एक हजार पाँच सय जना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् । अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालमा चार सयको हाराहारीमा मात्र छन् । ‘

सो अस्पतालद्वारा अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनले भरतपुर अर्बुद अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई अर्बुद निको हुने गरेको जानकारी दिए । उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ, तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्‍याउन सकिने उनको भनाइ रहेको छ ।

विश्व बाल अर्बुद दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रूपमा समेत सूचीकृत गरेको छ भने सरकारले बालबालिकाको अर्बुद उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ ।

सरकारले एक लाखसम्मको औषधि निस्शुल्क उपलब्ध गराउँदै आएको छ । डा. पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन् ।

उक्त कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्पतालका कार्यकारी निर्देशक डा. शिव पौडेल, उपनिर्देशक डा.उमेश नेपाल, अभिभावक तथा बिरामीहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?