जाजरकोट। जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ ।
त्यस्तै, नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्का अलपत्र परेका छन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोटस्थित पूर्वाधार विकास कार्यालयमार्फत ती ठेक्का भएको थियो । बहुवर्षे नाम दिइएको उक्त ठेक्काको काम सुरु नहुँदा कार्यालय प्रमुखदेखि अन्य सरोकारवालालाई टाउको दुखाइको विषय बनेको छ ।
उक्त निर्माण व्यवसायीलाई काम गर्न पटकपटक कार्यालयले पत्र काट्छ, निर्माण व्यवसायी हुन्छ भन्छन् तर काम गर्दैनन् । जाजरकोटमा मात्र तीन वटा ठेक्का अलपत्र पार्ने नेपाल मेघा सिस्ने जेभीले अन्यत्र के गरेको होला खोजीको विषय बनेको छ भने रु तीन करोड ९८ लाखमा नलगाड नदी माथि नलगाड नगरपालिका–५ सिर्के र बारेकोट गाउँपालिका–८ साघुतरामा पुल अलपत्र परेको छ ।
त्यसैगरी, म्याद सकिन आठ दिनमात्र बाँकी रहँदा निर्माण व्यवसायीले पुल निर्माणतर्फ चासो देखाएका छैनन् । उक्त कार्यालयले आधा दर्जन पत्र काटिसकेपनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन । यही सडकखण्डको छेडा, थालह सनाखोला चाँदे जुम्ला सडक, जुनिचाँदेमा काम नहुँदा अलपत्र छ । ३० किमी सडक निर्माण गर्नुपर्ने भए पनि नेपाल मेघा सिस्नेले काम नगर्दा अलपत्र पर्दै आएको हो । रु १५ करोड ५२ लाखमा सम्झौता भएको उक्त सडकको अहिलेसम्म दुई प्रतिशत मात्र काम भएको छ । यो सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मिति २०८२ पुस ४ गतेसम्म हो । विसं २०७८ पुस ५ गते सम्झौता भएको थियो । रु २४ लाख ७१ हजार मात्र यो सडकमा खर्च भएको छ ।
पश्चिम जाजरकोटको पुल र सडकका विकासको बाधकका रुपमा उक्त जेभी देखापरेको स्थानीयवासी बताउँछन् । समयमै काम नगर्दा पश्चिम जाजरकोटको सडक मृत्यु मार्गजस्तै भएको जुनिचाँदेका रेशम खड्काले बताएका छन् । सडक तथा पुल निर्माणको ढिलाइका विषयमा कार्यालयले गरेको ताकेतासमेत निर्माण व्यवसायीले नटेर्दा प्रशासनको सहयोग लिनुपरेको छ भने सो प्रशासन कार्यालयको पनि जिल्लामा भएका विकास निर्माणका काममा खासै चासो नभएको खड्काले बताएका छन् ।
सो जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधि विकास निर्माण हुने गरेको ढिलासुस्तीका विषयमा मुकदर्शक भएको आरोप लाग्दै आएको छ । त्यस्तै बारेकोट गाउँपालिका–२ र ५ को बीचमा रहेको घाटस्थित नलगाड खोलाको पुल निर्माण अलपत्र छ भने एकमात्र पिल्लर उठाएर बीचमा काम रोकिएको छ ।
नारायनम् निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले लिएको उक्त पुलको काम रु चार करोड ६५ लाख चार हजार ८५२ मा लिएको थियो । विसं २०७९ जेठ २३ गते सम्झौता भएको उक्त पुलको गत मङ्सिरमा म्याद सकिएर पुनः थपी २०८१ मङ्सिर २२ बनाइएको छ भने रु एक करोड ४० लाख चार हजार ९११ मा निर्माण व्यवसायीले भुक्तानी लिएको कार्यालयले जनाएको छ ।
हालसम्म ३० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । सुरुमा निर्माण व्यवसायीले काम राम्रो गरेपनि पछिल्लो समय बीचमै छोडेर सम्पर्कविहीन भएको कार्यालय प्रमुख यादवले बताए । पटकपटक पत्र काटेर छलफलमा आई काममा लाग्न आग्रह गर्दा पनि निर्माण व्यवसायीले नसुनेको उनको गुनासो छ भने उक्त निर्माण व्यवसायीसँग सम्पर्क गर्दा फोन नउठी प्रतिक्रिया लिन सकिएन ।
उक्त जिल्लामा विकास निर्माणको काम अलपत्र पर्दासम्म यहाँका जनप्रतिनिधि साना गोष्ठी, सभा र उद्घाटनका कार्यक्रममा रमाइरहेको आरोप स्थानीयवासीले लगाउँदै आएका छन् । जिल्लामा भएका सबैखालका बेथितिका विषयमा कोही पनि बोल्ने आँट नगर्ने स्थिति किन आयो नेकपा समाजवादीका जाजरकोट अध्यक्ष कमानबहादुर खड्का भन्छन्। जता हेरे पनि चित्त बुझाउने ठाउँ नभएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्मा भने गुनासो आएपछि मात्र छलफल हुने गरेको बताउँछन् । गुनासो नआउँदासम्म केही थाहा नहुने उनको भनाइ रहेको छ ।
प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार